स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायिलाई कारवाहीको दायरामा ल्याउदै वीरेन्द्रनगर

सुर्खेत – वीरेन्द्रनगरमा संचालित खाद्य तथा किराना र होटल व्यवसायिबाट उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड हुदै आएको छ । उपभोक्ताहरुको सोजोपन तथा अज्ञानतालाई फाइदा उठाउँदै यहाँका व्यवसायिहरुले मिति सकिएका र अखाद्यवस्तु मिसाईएका खानेकुरा बेच्दै आएका हुन् ।

पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड हुनथालेपछि वीरेन्द्रनगर नगरपालिकाले अनु्गमनलाई समेत तिब्रता दिएको छ । अन्ुगमनपछि त्यस्ता व्यवसायिलाई धमाधम कारवाहीको दायरामा पनि ल्याइदै छ ।

नगरपालिकाका अनुसार सुर्खेतमा म्याद नाघेका चाउमिनमा उत्पादन मिति नै परिवर्तन गरी बिक्रि गर्ने एक उद्योगीको उत्पादन जफत गर्नुका साथै नगद जरीवानासहित कारवाही गरिएको छ । उत्पादन मिति नै एक हप्ता अगाडि राखेर चाउमिन विक्री गर्ने वीरेन्द्रनगर–९ स्थित ‘सुर्खेत फ्रोजन मःम फुड हाउस’ उद्योगलाई कारवाही गरिएको हो । यो उद्योगले नगद ५० हजार जरीवाना बुझाएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्य वस्तुको लेवल परिवर्तन गरी कमसल वस्तुलाई झुक्याएर उच्च गुणस्तरको भनेर विक्री वितरण गर्न लागिएको दुई सय किलो चाउमिन समेत वरामद गरी नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै कालोबजारी गर्ने नियतले असोज १५ गते नै चाउमिनको पोकामा उत्पादन मिति १६, १८ र २० गते लेखिएको फरक–फरक मितिका चाउमिन फेला परेका थिए ।

सुर्खेत फ्रोजन मःम फुड हाउसले झुक्याएर लुम्बिनी मिष्ठान भण्डारमा विक्री गरेको चाउमिनमा लेवर परिवर्तन गरी विक्री गरेको पाईएपछि अनुगमन टोलीले उद्योगमै पुगेर चेकजाँच गर्दा म्याद नाघेका कमसल गुणस्तरहिन चाउमिन फेला परेको थियो ।

यस्तै सोही मितिका चाउमिन बजारका डि नमस्ते र नमस्ते नेपाल (जियाना) होटलमा समेत फेला परेका थिए । यो चाउमिन बिक्रिसँगै यी दुई होटलको भान्सामा देखिएको सरसफाईमा कमि लगाएतका कारण कारवाही गरिएको छ । कारवाही स्वरुप दुबै होटलको स्तर घटाइएको नगरपालिकाले जनाएको छ । जसअनुसार डि नमस्ते होटललाई (घ) र नमस्ते नेपाल होटललाई (ग) वर्गमा राखिएको छ ।

यी घटना उदाहरण मात्रै भएपनि वीरेनद्रनगर स्थित विभिन्न व्यवसायिले म्याद सकिएका खाद्यवस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै आएको पाइन्छ । यहाँका व्यापारीहरुको यो गम्भीर हेलचेक्रयाइँ पनि हो ।

यता वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालका अनुसार अब उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्ने जो कोही व्यवसायिलाई माफि दिइने छैन ।

‘बजार अनुगनलाई निरन्तर जारी राख्दै गलत दोहोर्याउनेमाथि कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौ’ उनले भनिन्, ‘पटक पटक चेतावनी दिदै आएका छौं, तर अब गलत भेटिए माफि दिइनेछैन । उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर बन्नुपर्छ । खेलवाड गर्नेलाई नगरपालिकाले छुट दिने छैन । कारवाहीको दायरामा ल्याइनेछ ।’

पहिलो पटक चेतावनी मात्रै

वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले सोमबार वीरेन्द्रनगर २ स्थित विभिन्न पसलमा निगरानी ग¥र्यो । सो अवसरमा कोलडाँडा थारु होमस्टे लगाएतका सबै अनुगमन गरिएका व्यवसायिलाई पटक पटक भन्दै चेतावनी मात्रै दिइयो ।

थारु होमस्टेको भान्सामा फोहोरसँगै खानेकुरा पनि अव्यवस्थित राखिएका थिए । त्यहाँ रहेका खाद्य परिकार हेर्दैमा फोहोर देखिन्थ्ये । तर अनुगमन टोलीले पहिलो पटकका लागि भन्दै चेतावनी मात्रै दिए । चेतावनी सहित दिइएका सुझाब कार्यान्वयन नभएको खण्डमा कारवाही गर्ने चेतावनी समेत दिइएको थियो । तर होमस्टे संचालक नै चेतावनी नसुने झै गरिरहेका थिए । यो एउटा उदाहरण मात्रै भएपनि वीरेन्द्रनगरमा समग्र व्यवसायि र अनुगमन टोलीको अवस्था यही हो ।

वीरेन्द्रनगर नगरपालिकाका उद्योग तथा अनुगमन शाखा प्रमुख दिपेन सुवेदीका अनुसार पहिलो पटक व्यवसायिलाई सच्चिन चेतावनी दिने गरिएको हो । तर दोस्रो पटक पनि सोही गलत दोहोर्याएको खण्डमा कारवाही हुने उनको भनाइ छ । पछिल्लो पटक नगरपालिकाले मुख्य बजार मात्रै नभई नगर क्षेत्रका सबै सहायक बजारमा पनि अनु्गमन बढाएको सुवेदीले बताए ।

उनका अनुसार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभएका पसल दर्ता गर्न निर्देशन दिइएको छ । यस्तै व्यवसायिहरुले मुल्य सुचि नटाँसेको, नापतौल यन्त्र दर्ता र नविकरण नगरेको, दाल, बदाम लगाएत खाद्यन्नमा किरा, धुसी लागेको, व्यवसाय फर्म नविकरण नभएको, वडा कार्यालयमा दर्ता नगरेका, राइनबोर्ड नराख्ने, पशुको दाना र खाद्य सामाग्रि एउटै स्थान राख्ने लगाएतका कमजोरी भेटिन्छन् ।

सिधै कारवाही गर्न माग

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायिलाई चेतावनी मात्रै नभई सिधै कारवाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चले कर्णाली प्रदेशको माग छ ।

सरकारले बजारलाई स्वच्छ बनाई गुणस्तरीय वस्तु उत्पादन तथा बिक्री–वितरणमा जोड दिएपनि बजारमा सडे–गलेका खाद्यवस्तुमा फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने देख्दादेख्दैपनि व्यापारीलाई कार्वाही नगरी चेतावनी दिने चलनको अन्त्य हुनुपर्ने मञ्चले माग गरेको छ ।

अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने, उपभोक्ताहरुलाई सचेत बनाउने, महंगी र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ बजार अनुगमन गर्ने गरिएपनि प्रभावकारी हुन नसकेको मञ्चका प्रदेश संयोजक आकाशतारा बयकले बताए ।

मानव स्वास्थ्यमा प्रतिकुल असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने कानून बनाएपनि कार्यान्वयन नहुँदा आर्थिक अपराध जस्ता विकृति मौलाएको उनको दावी छ ।

उनले भने, ‘दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गर्नेलाई हदैसम्मको कारवाही नभएसम्म बजार नियन्त्रण हुन सक्दैन् ।’

अनुगमन हुदाहुदैपनि सुर्खेतका स्थानीय बजारमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्ने गरेका छन् । पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु भेटिएपनि मिति हेरेर मात्रै सामान किन्ने चलन उपभोक्तामा खासै छैन । अधिकांश पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री पनि भेटिने गरेका छन् ।