काठमाडौं उपत्यकामा ६४७ सहित १३५६ जनामा कोरोना पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय ४७ सहित थप १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५६ जनामा जना कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार १ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ। जसमध्ये १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ५ सय ११ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ८ सय २३ रहेको छ।

देशभर गरेर आज आइसियु १ सय ९६ जना र भेन्टिलेटरमा ३१ जना उपचाररत छन् । त्यस्तै, आज थप २ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलान्चोककी ५० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय २९ पुगेको छ । (हेल्थ आवाज )