झुप्राखोलाको बास, बर्खाभरि त्रास

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारका बादी बस्तीका बासिन्दा हरेक वर्ष बर्खाको समयमा रातभर सुत्न पाउँदैनन् । झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा सुक्खायाममा रमाउने यो बस्तीका बासिन्दा बर्खाभरि सुत्न पाउँदैनन् । बादी बस्तीमा करिब डेढ सय घरपरिवार बस्दै आएका छन् । स्थानीय गीता बादीले बर्सेनि बर्खा लाग्नेबित्तिकै त्रास हुने बताउनुभयो ।

राति सुतेका बेला बाढी आइहाल्छ कि भन्ने त्रासले निद्रा नै नलाग्ने उहाँको भनाइ छ । अझ झरी परेका बेला कहालीलाग्दो अवस्था हुन्छ । विगतमा खोलाको बाढीले घर तथा पशुचौपाया बगेको स्मरण गर्दै उहाँले मानवीय क्षति पनि नहोस् भनेर बर्खायाममा सुत्न नसकेको उहाँले बताउनुभयो । खोला किनारमा १४१ घरपरिवार छ । त्यहाँ अधिकांश बादी समुदायको बसोबास छ ।

बादी समुदायका घरपरिवारका सदस्यको दैनिकी झुप्रा खोलाको बालुवा, ढुङ्गा निकालेर बिक्री गरेर जीवन गुजरा चलाउनु हो । मनसुन सुरु भएदेखि त्रास हुने गरेको यो बस्तीमा मनसुन नसकुन्जेल त्राहीत्राही हुने गरेको छ । असार लागेदेखि भदौसम्म स्थानीय सरकारले खोलाबाट ढुङ्गा र बालुवा निकासी बन्द गरिदिने गरेको छ । यस्तो समयमा यहाँका बासिन्दाले हातमुख जोर्न निकै सास्ती हुने गर्दछ । सदरमुकाम वीरेन्द्रनगरदेखि करिब १३ किमी पूर्वमा बसोबास रहेको सो स्थानका बासिन्दा ऐलानी जग्गामा २०४४ सालदेखि यहाँ बसोबास गर्दै आएका छन् । २०६५ र २०७२ सालमा खोलामा आएको ठुलो बाढीले निकै क्षति पुगेको थियो । मानवीय क्षति नभए पनि भौतिक संरचना तथा पशुचौपाया बगाएर लगेको थियो ।

झुप्रा खोलाका बादी बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने विषय बेला बेला राजनीतिक मुद्दा बने पनि हालसम्म स्थानान्तरण हुन सकेको छैन । सुरक्षित स्थानान्तरणको कुरा चुनावका बेला मात्र उठ्ने गरेको तर अरू बेला वास्तासमेत नभएको सुशीला बादीले बताउनुभयो । आफूहरूले स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिसँग खोला किनारका बस्तीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरेको तर सुनुवाइ नै हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्खायाम लागेसँगै यहाँका बासिन्दा ज्यान बचाउन घर छाडेर राति अग्लो ठाउँमा बसेर बिहान मात्रै घरमा आउने गरेका छन् । योभन्दा बढी पीडा अरू कसलाई होला र रु” कतिपय परिवारले धनजनको क्षति होला कि भन्ने त्रासमा रातभर मानिसहरू जाग्राम बस्ने गरेको बताउँदै उहाँले जतिसक्यो छिटो अन्यत्र स्थानान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

खोलामा तटबन्ध अविलम्ब गरिनुपर्ने भन्दै उहाँले अझै पनि बस्ती स्थानान्तरण गर्न नसकिए धनजनको क्षति हुन सक्ने उल्लेख गर्नुभयो । बस्ती स्थानान्तरण गरेर मात्र होइन, उनीहरूलाई जीविकोपार्जन हुने खालका कार्यक्रम ल्याउनुपर्ने बादी समुदायका सदस्यले माग राख्दै आएका छन् । असारदेखि भदौसम्म खोलामा बालुवा र ढुङ्गा निकाल्न रोक लगाउँदा बादी समुदायको जीवनयापनमा थप समस्या पर्ने गरेको गुनासो उहाँको छ । स्थानीय तहले बर्खाको समयमा खोलामा उत्खनन गर्न रोक लगाउँदै आएका छन् । – गाेरखापत्रबाट