कर्णाली राजमार्ग खुलाउन पहिरो पन्छाउनैपर्ने सकस

सुर्खेत – अविरल वर्षातका कारण सडकमा पहिरो झरेपछि अवरुद्ध कर्णाली राजमार्ग खुलाउन सकस भएको छ । जमुहनाह–सुर्खेत–कालिकोट सडकको एस मोडमा झरेको ठूलो ढुंगाका कारण सडक सुचारु गर्न सकस भएको हो ।

शुक्रबार रातीदेखि सडक अवरुद्धहुँदा कालिकोट, हुम्ला, बाजुुरा, मुगु र जुम्ला जाने यात्रुहरुको विचल्ली भएको छ । सयौं यात्रुहरु अलपत्र परेपछि केही यात्रुहरु दैलेख, कालिकोटको सिमाना दही खोलाबाट अर्को सवारीमा सुर्खेतर्फ र सुर्खेतबाट हिमाली र पहाडी जिल्लामा जान हिडेर हुल्मबाट गन्तव्यतिर गइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कर्णाली करीडोर पनि अवरुद्ध भएको छ । जितेगडा–सिमकोट सडक खण्डको सान्नीत्रिवेणी गाउँपालिकाको रेंगिलमा पहिरो झरेपनि सडक अवरुद्ध रहेको र पहिरो हटाउन डोजरले काम गरिरहरको थापा बताउनुहुन्छ । तर मुगु जुम्ला सडकको हुल्म–मान्म–नाग्म खण्डमा कुनै अवरोध छैन ।

कालिकोटको हुल्मदेखि दैलेखको दही खोलासम्म ६ ओटा ठूला पहिरो झरेको सडक डिभिजन कार्यालय जुम्लाका सव–इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पाँच ठाउँको पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गर्न सकिने भएपनि एस मोडको पहिरोले दुःख दिएको छ ।

एसमोडमा ठूलो ढुंगा सडकमा बसेको छ । फुटाउन मेसीनको प्रयोग गरिएपनि समस्या भइरहेको बतायउको छ । अधिकारीले भन्नुभयो, ‘अहिलेसम्म ३० प्रतिशत ढुंगा फुटाइएको छ, बाँकी ढुंगा जसरी पनि फुटाउने र यदि नसकिए ब्लाष्ट गर्न जिल्ला प्रशासन कार्यालय कालिकोटसँग पहल भइरहेको छ ।’

पहिरो पन्छ्याउन जुम्ला र सुर्खेतबाट एक्साभेटर, लोडर, डोजर सडक अवरुद्ध स्थलमा पुगेर काम गरिरहेका छन् । छिनछिनमा पानी परिरहेकाले पहिरो हटाउनमा थप समस्या भइरहेको अधिकारी बताउनुहुन्छ ।

यता जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एसमोडको ढुंगा हटाउन समस्या भइरहेको बताउनुभयो । सडक कार्यालयले ढुंगा फुटाउन सकिन्छ की भनेर काम गरिरहेको भन्दै स्काभेटरले पहिरो पन्छ्याउन नसके ब्लाष्ट गर्न नेपाली सेनासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।