भेरी अस्पतालभित्र डा.गोविन्द केसीको उपचार सुरु, गेट बाहिर जीवन रक्षाको कामना

नेपालगन्ज – डा. गोविन्द केसीको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु भएको छ । अनसनको सात दिनसम्म जुम्लामा रहँदा औषधि उपचारसमेत गर्न नमानेका डा.केसी ८औं दिनमा पहिलो पटक नेपालगन्जमा उपचार गर्न तयार भएका हुन् ।
भेरीमा आउने बित्तिकै रगत, पिसाब जाँच गरे र इसीजी गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । केसीसँगै नेपालगन्ज आएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. प्रविण गिरीले  भने, ‘जुम्लामा हुँदा कुनै उपचार गर्न मान्नु भएको थिएन । नेपालगन्जमा पुगेपछि स्वास्थ्य परीक्षण र उपचार सुरु भएको छ । स्लाइन पनि लिन मान्नु भयो । अब स्वास्थ्यमा सुधार हुनेछ ।’

भेरीमा उपचार गराइरहेका डा.केसीको जीवन रक्षाको माग गर्दै बास नेपालगन्जले सोमबार साँझ अस्पताल बाहिर द्वीप प्रज्ज्वलन गरेको थियो । कार्यक्रममा डा.विनोद कर्ण, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, अधिवक्ता प्रल्हादबहादुर कार्कीलगायत नागरिक अगुवाले केसीको जीवन रक्षाका लागि ऐक्यबद्धता जनाएका थिए । डा.केसीलाई मंगलबार बिहान ११ः १५ बजेको बुद्ध एयरको विमानबाट काठमाडौं लैजाने तयारी भएको छ ।