एकिकृत राप्रपाको चुनाव चिन्ह ‘हलो’, थापाले भने- पार्टी एकता जोगाउन सम्झौता गरें

एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्।

दुई पार्टीबीच एकिकरण गर्ने सहमति भएपनि चुनाव चिन्ह गाई बनाउने वा हलो भन्नेमा विवाद रहँदै आएको छ। विवादका कारण एकिकृत पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन्।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आइतबार चुनाव चिन्ह हलो बनाउने सहमति गरेका हुन्।

राप्रपा नेता मोहन श्रेष्ठले सेतोपाटीसँग कुरा गर्दै तीन अध्यक्षबीच आइतबार सहमति भएको बताए।

तीन अध्यक्षबीच आइतबार भएको सहमति अनुसार सोमबार दुबै पार्टीका कार्यसम्पादन समितिले छलफल गरेर ‘हलो’लाई एकिकृत पार्टीको चुनाव चिन्ह बनाउने निर्णय गरेको श्रेष्ठको भनाइ छ।

‘सोमबार आआफ्नो पार्टीको कार्यसम्पादन समितिमा छलफल गर्यौं, अब दुबै पार्टीको एकिकृत कार्यसम्पादन समितिले यसलाई मूर्त रूप दिनेछ। आज १० बजे एकिकृत समितिको बैठक बस्दैछ’, श्रेष्ठले भने।

त्यसैगरी उनले तीनवटा बुँदामा पनि सहमति भएको बताए।

श्रेष्ठका अनुसार राप्रपाको पुरानो दर्तालाई कायम गरेर विधान संशोधन गर्ने, केन्द्रीय कार्यसमितिको सदस्य संख्यालाई १६५ बाट ३२७ बनाउने र चुनाव चिन्ह गाईंको सट्टा हलो बनाउने सहमति जुटेको छ।

यस्तै आगामी वर्षको वैशाखको तेश्रो हप्ता केन्द्रीय महाधिवेशन जानकारी उनले दिए।

उनले पार्टी दर्ताका लागि आजै निर्वाचन आयोग जाने बताएका छन्।

‘चिन्हमा कुरा नमिल्दा पार्टी पुनः अलग हुने अवस्था आयो अनि सहमति गर्यौं’, श्रेष्ठले भने, ‘पार्टी एकता जोगाउन भावनात्मकरूपमा जोडिएको चुनाब चिन्हमा सम्झौता गर्ने कठिन निर्णय गरेका छौं।’

अध्यक्षमध्येका एक कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको जनाएका छन्।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु।

अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’, मंगलबार विहान ट्विट गर्दै उनले भनेका छन्।

ट्विटमा उनले आफू नेतृत्वको गाईं अंकित पार्टीको झण्डा समेत पोस्ट गरेका छन्। ( सेताे पार्टि )