४८ वर्ष पुरानो विद्युतको भरमा सुर्खेत, लो–भोल्टेजले हैरानी

सुर्खेत – नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले हाल सेवा दिइरहेको कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाइन निर्माण भएको करिब ४८ वर्ष बित्यो । यो प्रशारण लाइन २०३२ सालमा तत्कालिन सर्वेक्षणका आधारमा डिजाइन भएको हो ।

हाल सुर्खेतमा मात्रै ६८ हजार बढि विद्युत उपभोक्ता छन् । यो प्रशारण लाइन अन्तर्गत सुर्खेतको रामघाटबाट जाजरकोट, रामघाट–सुर्खेत र सुर्खेत–दैलेख–कालिकोट हुदै जुम्लासम्म विस्तार गरिएको छ । तर विद्युत भोल्टेज घट्दै गएको छ ।

एकातिर दश गुणाले प्रदेशभर विद्युत उपभोक्ता बढ्दै छन् । अर्कोतिर विद्युत भोल्टेज घटेर ३३ केभीबाट सुर्खेत पुग्दा २० केभीमात्रै विद्युत आयात हुने गरेको छ । यही २० केभी सुर्खेत हुदै जुम्लासम्म पुग्दा बत्ति धिपिक्क मात्रै बल्छ ।

‘सबै जिल्लामा बत्तिको लोड बढ्दैछ, भोल्टेज घट्दैछ’ वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले भन्नुभयो, ‘हिजोआज नागरिकले भोगिरहेको समस्या अन्त्य गर्न अब १३२ केभी आउनुको विकल्प छैन, यसमा सबै निकाय गम्भिर हुनुपर्छ ।’

नियम अनुसार ३० हजार भन्दा बढि उपभोक्ता भएको खण्डमा विद्युत क्षमता विस्तार गरी अर्को वितरण केन्द्र स्थापना गर्नुपर्ने हो । तर सुर्खेतमा मात्रै ६८ हजार उपभोक्ता पुग्दा एउटै वितरण केन्द्रले हेर्नुपर्ने बाध्यता छ । जसले गर्दा जिल्लाका सबै ठाउँमा प्रभावकारी सेवा दिन नसकेको सूचना अधिकारी बेनी नेपालीले स्विकार्नुभयो ।

सुर्खेतसँगै कर्णालीका विद्युत उपभोक्ताले नियामानुसार विद्युत सेवा पाएका छैनन् । नियामानुसार प्रत्येक उपभोक्ताले कम्तिमा २२० भोल्टेज बत्ति उपभोग गर्न पाउनुपर्ने हो । तर सुर्खेतमा हिजोआज मुस्किलले १२० भोल्टजसम्म बत्ति उपयोग गरिरहेका छन् ।

जसले गर्दा घरमा नत राम्रोसँग पंखा नै चल्न । नत फ्रिजदेखि पानी तान्ने मोटर नै चल्छन् । सुर्खेत वितरण केन्द्रका अनुसार १३२ केभीको कोहलपुर प्रशारणले नै १२० केभी बढि बत्ति पाउँदैन । १२० केभीमा झरेको कोहलपुरबाट ३३ केभी सुर्खेत पठाउँदा सुर्खेतसम्म २० केभी मात्रै बत्ति पुग्छ ।

जसले गर्दा सुर्खेत वितरण केन्द्रले उपभोक्तालाई माग अनुसारको बत्ति पु¥याउने संभावना नै छैन । त्यसैमा झन् मन्त्रालय, कार्यालयहरु र घरघरमा जडान गरिएका इन्भटर र स्टाप्लाइजरका कारण सामान्य नागरिकको घरमा बत्तिको भोल्टेज पुग्दैन । इन्भटर र स्टाप्लाइजर जडानका लागि वितरण केन्द्रमा धाउनेको पनि दैनिक भिड छ ।

तर बत्ति आउने बित्तिकै मन्त्रालय र कार्यालयहरुले जडान गरेका इन्भटर र स्टाप्लाइजरमा बत्ति लोड हुदाँ भोल्टेज ह्वातै घट्ने गरेको छ । सम्पन्न परिवार, मन्त्रालयका कर्मचारी र मन्त्रीहरु र कार्यालयका कर्मचारीहरुले इन्भटरमा बत्ति लोड गरेर बत्ति नहुदाँ पनि मज्जैले पंखा, फ्रिज र एसी चलाएर बस्छन् । तर उनीहरुकै कारण बत्ति आउँदा पनि भोल्टेज लो हुदाँ सामान्य नागरिकले पंखा समेत राम्रोसँग चलाउन पाउँदैनन् । यस्तै विद्युतीय गाडी चार्जिङ गर्न तथा उद्योगधन्दा संचालनमा निकै सकस परेको छ ।

भोल्टेज बढाउन आकाशे पानीको भर

हाल कर्णालीमा कुनै ठुला हाइड्रोपावर छैनन् । कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाइनले प्रदेशभर विद्युत पुग्दैपुग्दैन । कर्णालीमा विद्युत सेवा पु्र्याउने विकल्पको रुपमा रहेको दैलेख नौमुले गाउँपालिका स्थित माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनी हाल आकाशे पानीको भरमा छ । पानीको स्रोत घट्दै गएपछि ८ मेगावटको यो हाइड्रोपावरले हाल ३ मेगावट मात्रै विद्युत उत्पादन गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार ठुलो पानी नपरेसम्म कर्णालीमा विद्युत भोल्टेज बढ्ने छैन । सुर्खेत वितरण केन्द्रका अनुसार कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन नबनेसम्म बाह्य विद्युत भित्र्याउने कुनै विकल्प छैन । कर्णालीमा विकल्पको रुपमा रहेको दैलेख नौमुले स्थित माथिल्लो लोहोरे हाइड्रोपावर आकाशे पानी कुरेर बसिरहेको छ ।

पानीको स्रोत बढेको खण्डमा योे हाइड्रोपावरले ६ मेगावटसम्म विद्युत उत्पादन गर्नेछ, तब मात्रै कम भोल्टेजको समस्या अन्त्य हुने वितरण केन्द्र जनाएको छ । विद्युत उत्पादनका लागि पानीको स्रोत नबढेसम्म हाल भोगिरहेको समस्या यथावत रहने वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपाली बताउनुहुन्छ ।

‘तत्काल विद्युत कम भोल्टेज समस्या समाधानका लागि अन्य कुनै विकल्प छैन’ उहाँले भन्नुभयो, ‘अब कोहलपुर–सुर्खेत १३२ केभी र कर्णालीमा ठुला हाइड्रोपावर नबनेसम्म भविष्यमा समस्या झन् बढ्दै जानेछ ।’