संक्रमण दर बढ्यो, पीसीआर टेष्ट घट्यो

काठमाडौं – जनस्वास्थ्य विज्ञहरु भन्छन्, ‘संक्रमण दरले कोरोना महामारीले कुन रुप लिँदैछ भन्ने कुरा निर्धारण हुन्छ । त्यसैले संक्रमण दर बढ्न थालेपछि परीक्षण बढाएर महामारी नियन्त्रणमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।’

२ असोजमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमण दर १७ प्रतिशतमाथि थियो । पछिल्लो एक साताको तथ्याकंलाई विश्लेषण गर्दा नेपालमा कोभिड-१९ को संक्रमण दर झण्डै १४ प्रतिशत पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर १० प्रतिशतभन्दा बढ्नु घातक संकेत हो । महामारीको यो तथ्यांकशास्त्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि राम्रैसँग थाहा छ । पीसीआर परीक्षण बढाउन माग हुादा मन्त्रालयले त्यही रटान लगायो, संक्रमण दर १० प्रतिशतभन्दा निकै कम छ, परीक्षण बढाउन जरुरी छैन ।’

तर जब संक्रमण दर बढ्यो, मन्त्रालयले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको देखिएको छ । पछिल्ला दिनहरुमा पीसीआर टेष्ट घटेर दैनिक ९ हजार आसपास आएको छ ।

सुरुमा संक्रमण दरबारे बुझौं,

दैनिक आरटी पीसीआर टेष्ट गरिने नमुना र त्यसमा पोजेटिभ आएको संख्याको अनुपातलाई संक्रमण र दर भनिन्छ । विश्व स्वास्थ्य संगठनले ‘प्रत्येक १ संक्रमित बराबर १० देखि ३० जनाको परीक्षण भएमा संक्रमित पत्ता लाग्ने सम्भावना ज्यादा हुन्छ’ भनेको छ । अर्थात् १० जनालाई परीक्षण गर्दा १ जना अर्थात १० प्रतिशतमा संक्रमण देखिएमा परीक्षण पुगेको मानिन्छ । एकभन्दा बढीलाई संक्रमण देखिए परीक्षण अपुग भएको भनेर बुझनुपर्छ ।