कर्णालीमा कोरोना महामारीसँगै स्क्रब टाइफसका बिरामी बढे

सुर्खेत – कर्णालीमा कोरोनाको महामारीसँगै स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन । डेंगु र स्क्रब टाइफस रोग प्राय सेप्टेम्बर महिनामा कर्णालीमा देखिने गरेको प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले जनाएका हुन् ।

यसको उपचार सबै स्वास्थ्य चौकीमा  सम्भव नभएकाले बिरामीले प्रदेश अस्पताल सुर्खेत र निजी क्लिनिकहरुमा उपचार गराउने गरेको उनको भनाइ छ । विशेषगरी कर्णालीमा अहिले स्क्रब टाइफसका बिरामी बढी देखिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

गत वर्षको तुलनामा अहिले स्क्रब टाइफसका बिरामी बढेको मान्न सकिने प्रदेश अस्पतालका सुचना अधिकारी विनोद बस्नेत बताउँछन्। अस्पतालको तथ्यांक अनुसार यो आर्थिक वर्षको गत साउन एक गते देखि भदौ मसान्तसम्म १२ जना स्क्रब टाइफसका बिरामीले उपचार गराएका छन् ।

त्यस्तै, सुर्खेतको नेपाल बाल पोलिक्लिनिकमा भने २४ जना स्क्रब टाइफसका बिरामीले उपचार गराएको तथ्यांक छ । स्क्रब टाइफसका बिरामीको रिपोर्ट सम्बन्धित स्वास्थ्य संस्थाबाट आइनसकेकाले प्रर्देशभर कति जना बिरामीले उपचार गराए भन्ने तथ्यांक प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग नभएको निर्देशनालयले जनाएको छ ।

हालसम्म निर्देशनालयमा एक जना मात्र स्क्रब टाइफसका बिरामीले उपचार गराएको तथ्यांक रहेको छ । ‘स्क्रब टाइफसको संक्रमण भएपछि कतिपयको शरीरमा किराले टोकेको जस्तो रातो बिबिरा देखिन्छ, ‘डाक्टर केसीले भने, ‘स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेपछि पेट दुख्ने, ज्वरो आउने, घाँटी तथा खुट्टाहरुका गिर्खाहरु सुनिने हुन्छ ।

यसका साथै सरिरका ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् ।’ समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले यस्ता लक्षण देखिने बित्तिकै समयमै स्वास्थ्य संस्थामा गई उपचार गराउन डाक्टर केसीले सुझाव दिएका छन् ।

त्यस्तै, प्रदेश अस्पतालमा एक जना डेंगुका बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ । नेपाल बाल पोलिक्लिनिकमा भने चार जना डेंगीका बिरामीले उपचार गराएको तथ्यांक रहेको छ ।