एमयूले अन्तिम परीक्षा पनि अनलाइनबाटै सञ्चालन गर्ने

सुर्खेत -मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने जनाएकाे छ। विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन गर्न लागेकाे हाे ।

 

पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जानकारी दिए । परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म सञ्चालन गरिने सुवेदीकाे भनाइ छ ।

विश्वविद्यालयले अनलाइन माध्यमबाटै यसअघि मिड ट्रम परीक्षा गरेको थियो । ‘करिब ६ हजार विद्यार्थीले (अनलाइनबाटै ) परीक्षा दिइसकेका छन् । मिड ट्रम प्रभावकारी भएपछि फाइनल परीक्षाको तयारी थालिएकाे प्रमुख सुवेदीकाे भनाइ छ । विश्वविद्यालयले मिड ट्रम परीक्षा भन्दा अन्तिम परीक्षामा केही सुधार गरेको छ ।

विद्यार्थीलाई परीक्षा अवधि ८ घण्टा तोकिएको छ । बिहान ८ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्नपत्र पठाइनेछ । सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखेर विद्यार्थीले उत्तरपुस्तिका पठाउनुपर्नेछ।

कर्णालीको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको प्रमुख सुवेदीले बताए । थप गरिएकाे चार घण्टा इमेल गर्ने समय थपेकाे सुवेदीले जनाए ।

परीक्षार्थीले ‘ए–फोर’ साइजको कागजमा उत्तर लेखेर ‘पीडीएफ’ फाइल बनाई इमेल गर्नुपर्नेछ । प्रश्नको शैली परिवर्तन गरिने विश्वविद्यालयले जनाएको छ । सिर्जनात्मक तथा समस्या समाधानमूलक प्रश्न, केही विषयगत प्रश्न र केही वस्तुगत प्रश्न राखिने प्रमुख सुवेदीले बताए ।

मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन कमलेश डिसीले अहिलेको परिस्थितिमा अनलाइन परीक्षा उत्तम भएको बताए । कोरोना महामारीलाई देखाएर अलमलिनु भन्दा वैकल्पिक उपाय खोजनु उत्तम हुने उनी बताउँछन् ।

विद्यार्थीले घरमै बसेर गुगलमा खोजेर, कसैसंग सोधेर, पुस्तकका पाना पल्टाएर वा अन्य कुनै माध्यमबाट उत्तर खाजेर हुबहु जवाफ आएको खण्डमा ती उत्तरको नम्बर काट्ने मापदण्ड राखिने सुवेदीले उल्लेख गरे । विश्वविद्यालयको केन्द्रीय र १० वटा आंगिक क्याम्पसका गरी झण्डै सात हजार पाँचसय विद्यार्थी अध्ययनरत छन् ।