सुर्खेत – कर्णाली सरकारको महत्वाकांक्षी ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि सुरु गरेको यो कार्यक्रम हाल अलपत्र अवस्थामा छ ।
अलपत्र ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कार्यान्वयनका लागि ऐन बनाउने तयारी भइहेको सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत सुनिता के।सी बताउनुहुन्छ ।‘कार्यविधि अनुसार कार्यक्रम संचालनमा प्रभावकारीता नदेखिएपछि ऐन बनाएर कार्यक्रम कार्यान्वयन गर्ने तयारी भइरहेको छ’ उहाँले भन्नुभयो, ‘हाल ऐनको ड्राफ्ट तयार हुदैछ , ऐन बनाएर प्रदेशसभाबाट पास गरी प्रमाणिकरण हुन समय लाग्ला, तर कार्यक्रम कार्यान्वयनमा जोड दिने तयारी छ ।’
उहाँका अनुसार ऐम मार्फत नयाँ मोडेलबाट कार्यक्रम चलाउनेबारे छलफल भइरहेको छ । सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा उल्लेख गरेर निरन्तरता दिएपनि विभिन्न प्राविधिक समस्या देखिएपछि नयाँ मोडेलमार्फत फेरि कार्यान्वयनमा लैजाने गरी गृहकार्य भएको हो ।प्रदेश सरकारले बालविवाह न्यूनीकरण गर्न र छोरीको सुनौलो भविष्यका लागि भन्दै यो कार्यक्रम सुरु गरेको थियोे । स्थानीय तहहरूले खाता खोलेकोबारे जानकारी पठाएपछि प्रदेश सरकारले सुरुमै १ हजार र पछि निरन्तर मासिक पाँच सय रुपैयाँ बचत गरिदिने कार्यविधि बनाइएको छ ।
कार्यविधिका आधारमा २०७६ साउनयता जन्मिएका सबै छोरीलाई कार्यक्रममा सहभागी गराइएको छ । तर सुरुका दुई आर्थिक वर्ष बाहेक त्यसपछिको पैंसा खातामा गएको छैन । योकार्यक्रम अन्तर्गत कर्णालीका १७ हजार बढि छोरीले बैंक खाता खोलेका छन् ।अब बन्ने ऐन बनेमा कार्यक्रम दिर्घकालिन रुपमा कार्यान्वयन गर्न सहज हुने अधिकृत के।सी ले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा लागू छ । खातावाला छोरीले २० वर्ष नपुग्दै विवाह गरे, माध्यमिक तहको अध्ययन पूरा नगरे र बीचमै पढाइ छाडे रकम नपाउने कार्यविधिमा उल्लेख छ ।
छोरीहरूको सुनौलो भविष्यका लागि भन्दैप्रदेश सरकारको महत्वाकांक्षी यो कार्यक्रम कालीकोटबाट निकै तामझामका साथ सुरु गरिएको थियो । सुरुमा लोकप्रिय मानिएको यो कार्यक्रमबारे निकै चर्चा पनि भयो । तर यो कार्यक्रमले सुरुका दुई आर्थिक वर्ष बाहेक त्यसपछि निरन्तरता पाउन सकेको छैन ।
तत्कालिन सामाजिक विकास मन्त्री दल रावलको कार्यकालमा सुरु भएको यो कार्यक्रम हाल अलपत्र पर्दा पूर्व मन्त्री रावलले समेत चिन्ता व्यक्त गरेका छन् । तर प्रदेश सरकारको महत्वाकांक्षी मानिने योकार्यक्रम सरकारकै कमजोरीले अलपत्र परेको हो । कार्यक्रम संचालन पूर्व प्रदेश सरकारले दिर्गकालिन रणनीति नबनाउदाँ विगत तीन वर्ष यता कार्यक्रम कार्यान्वयनमा समस्या आएको छ ।
सुरुमा बनेको कार्यविधि समयानुकुल संशोधन गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा त्यसतर्फ प्रदेश सरकारको ध्यान नजानु बिडम्वना भएको पूर्व मन्त्री रावल बताउँछन् ।
यस्तो छ कार्यक्रम छलपत्र पर्नुको कारण
विशेष गरी उच्च शिक्षासम्म छोरीको पहुँच बृद्धि र बालबिवाह न्यूनिकरण गर्ने ध्येयेले सुरु गरिएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअलपत्र पर्नुका धेरै कारणहरु छन् । जसमा कार्यक्रम कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालयमाछुट्टै फाँट तथा कर्मचारी नहुनु प्रमुख कारण हो ।
यस्तै स्थानीय तहसँग नियमित समन्वय नहुनु, अख्तियारी ढिलो जानु, छोरीहरूको समयसीमाभित्र खाता नखोलिनुलगायत कारण कार्यक्रमको प्रभावकारिता कम देखिएको थियो । त्यस्तै २० वर्षसम्म अनुत्पादक क्षेत्रमा प्रदेश सरकारको ठुलो पैंसा लगानी हुनु पनि एक कारण हो ।कार्यक्रम कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकार दुवैको प्रभावकारी समन्वय पनि हुन सकेन । मन्त्रालयमा मन्त्रीहरु पनि फेरीने र बजेटमै कम प्राथमिकतामा दिदाँ पनि कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो ।
छोरीको भविष्यका लागि सुरु गरिएको कार्यक्रम अलपत्र पर्दा त्यसले नकारात्मक असर परेको अधिकारकर्मीहरु बताउँछन् । लेखक तथा महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले छोरीको सम्मान बढाउनका लागि पनि यो कार्यक्रम महत्त्वपूर्ण मानिएको बताउनुभयो ।
अहिले पनि कर्णालीका अधिकांश दुर्गम ठाउँमा अशिक्षाका कारण छोरा, छोरीबिच विभेद छ’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले विभेद हटाउनुका साथै बालविवाह र महिला हिंसा घटाउन पनि मद्दत गरेको थियो ।’
पालिकाको सहयोगमा छोरीको बैंक खाता खोलीएपनि तीन वर्षयता खातामा पैंसा जम्मा नभएको जुम्ला तातोपानीका जयशंकर जैशीले बताउनुभयो । ‘छोरीको खातामा पैंसा आयो कि भनेर दुई÷तीन पटक चेक गरियो, तर पैंसा नै आएको छैन’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले यसरीठुलो महत्वाकांक्षा राखेर अलपत्र पर्ने कार्यक्रम बनाउनुका सट्टा दिर्घकालिन हित हुने गरी कार्यक्रम बनाउनुपर्थ्र्यो ।’
कार्यक्रमका लागि अहिलेसम्म झन्डै १९ करोड रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तर सुरुको दुई आर्थिक वर्ष बाहेक त्यसपछि बजेट विनियोजन भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।