प्रचण्डको निर्देशनविपरीत मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर छाड्ने

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएर छाड्ने भएका छन्। शर्मा माओवादी पार्टीका हुन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत उनले विश्वासको मत लिने अडान राखेका हुन्।

मुख्यमन्त्री शर्माले विश्वास मत लिएर छाड्ने अड्डी कसेपछि कर्णाली भागबन्डामा परेको सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा विश्वासको मतको विषयमा छलफल हुनेछ।

यस्तै मंगलबार बसेको कर्णाली प्रदेशसभा नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले विश्वास मत जसरी पनि लिएर छाड्ने निर्णय गरिसकेको छ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएका छन्।शर्माले हिजै मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए।

तर केन्द्रमा सत्तारुढ दलबीच भएको प्रदेश भागबन्डामा कर्णाली एमालेलाई दिने सहमति भइसकेकाले प्रक्रिया अघि बढ्न सकेको छैन। मुख्यमन्त्री शर्माले विश्वासको मत लिने र पछि राजीनामा दिने बताइरहेका छन्।