सुर्खेत – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाइ लक्षित गरी कर्णाली प्रदेशमा धमाधम खेलपूर्वाधार निर्माण भइरहेका छन् । ठेक्का सम्झौता अनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेलपूर्वाधार निर्माण भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ ।
परिषदका अनुसार हाल डोल्पा र सल्यान बाहेक कर्णालीका अन्य आठ वटै जिल्लामा विभिन्न खेलपूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करणको तयारी स्वरुप आवश्यक खेल पूर्वाधार निर्माण भइरहेका हुन् ।
कर्णालीमा आगामी आर्थिक वर्ष २०८१ को मंसिर २ गतेदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुदैछ । त्यसैको तयारी स्वरुप खेलकुद पोषक र खेलकुद गित निर्माणदेखि खेल प्रशिक्षणका अभ्यासहरु समेत तिब्र रुपमा भइरहेका छन् ।
प्रतियोगितालाई लक्षित गरी हाल जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण कार्य जारी छ । कर्णाली प्रदेशको गौरवको आयोजना वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम अन्तिम चरणमा आइपुगेको छ । हालसम्म रंगशाला निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्याल बताउनुहुन्छ ।
उहाँका अनुसार २०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता भएको थियो । आगामी आर्थिक वर्ष २०८१ असार ११ गते सम्झौता मिति सकिदैछ । तर निर्माणको काम तोकिएको मिति भन्दा एक÷दुई महिना ढिला हुने देखिन्छ । एमएसि जिएसएल जेभी काठमाडौंले रंगशाला निर्माणको ठेक्का लिएको छ ।
रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म ३० करोड बजेट कार्यान्वयन भएको सदस्य सचिव संज्यालले बताउनुभयो । उहाँका अनुसार निर्माणधिन प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । उक्त रंगशालामा फुटबल मैदान, भलिवल कभर्डहल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भीआइपी प्याराफिटको दुई तले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको छ ।
प्रदेश रंगशालामै ह्यान्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइदैछ । हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको बताउदै अपांगता भएका व्यक्तिका लागि पारा खेल पूर्वाधार समेत निर्माण गर्ने तयारी रहेको परिषदले जनाएको छ ।
इतिहासमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीमा सञ्चालन हुनलागेको छ । तर कर्णालीलाई अनुुभवको अभाव छ । भौगोलिक विकटताले गर्दा पनि सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइएपनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । तर परिषदका सदस्य सचिव संज्याल खेल पूर्वाधारको अभावका कारणले खेलकुद प्रतियोगिता नरोकिने बताउनुहुन्छ ।
जिल्लागत पूर्वाधार निर्माणको अवस्था
खेलकुद विकास परिषद्का अनुसार सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा धमाधम खेलपूर्वाधार बनिरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेल मैदानको प्रयोग गर्नेगरी जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण थालिएको हो । ती मैदानहरूलाई विकल्पको रूपमा राखिने छ । वैकल्पिक मैदानहरूमा खेल तालिका अनुुसार प्रयोगात्मक खेलहरू हुनेछन् ।
जसअन्तर्गत कालिकोट र जाजरकोटमा कभर्डहल निर्माणको बहूवर्षीय खरिद स्वीकृत प्रक्रिया अघि बढेको छ । मुगु जिल्लामा कबड्डी मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
दैलेखमा कभर्डहल मर्मतको काम भइरहेको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । खेलकुद विकास समितिका संयोजक भेषराज भण्डारीका अनुसार २०८० माघ ९ गते ठेक्का सम्झौता भइ काम अघि बढेको छ । १३ लाख ८२ हजारमा २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यस्तै हुम्लामा हकी खेलमैदान निर्माणको काम सुरु भएको छ । समुन्द्र निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाएको खेलकुद विकास समिति हुम्लाका अध्यक्ष विनोद बोहोराले बताउनुभयो । उहाँका अनुसार २०८० फागुन ६ गते खेलमैदान निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असार २० गते निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको छ । एक करोड ५० लाखमा हकी खेलमैदान निर्माण हुनेछ । अहिले मैदान सम्माउने काम भइरहेको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिवल खेल मैदान तथा प्याराफिट निर्माणको काम थालिएको छ । हिरा नेपाल निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ । २०८० पुष ५ गते मैदान निर्माणका लागि ठेक्का सम्झौता गरिएको समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताउनुभयो । ४० लाखमा मैदान निर्माण हुनेछ । २०८१ वैशाख १ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले मैदान निर्माणको काम धमाधम भइरहेको पाण्डेले जानकारी दिनुभयो ।
रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम थालिएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका काम भइरहेको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमले जनाएको छ । २०८० माघमा ठेक्का सम्झौता गरी मर्मतको काम सुरु गरिएको समितिका अध्यक्ष शैलेश शर्माले बताउनुभयो । उहाँका अनुसार मुसिकोट कभर्डहल मर्मतको काम उपभोक्ता समितिमार्फत् भइरहेको छ । १५ लाखमा कभर्डहल मर्मतको काम गरिनेछ ।
यस्तै सुर्खेतको चिसापानीमा फुटबल मैदान निर्माण भइरहेको छ । दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको ८० प्रतिशत काम सकिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । २०८० चैत ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । भने वीरेन्द्रनगरमा देउडा पार्क सहितको अर्को क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । चार करोड ५९ लाख लागत रहेको रंगशालामा संरचना निर्माणको ठेक्का जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । २०८० चैत ५ गते ठेक्का सम्झौता भएको यो रंगशाला २०८१ असार २५ गतेसम्म निर्माण गरिसक्नुपर्नेछ ।