काे-काे हुन्, ११ करोड बढि हिनामिना गर्ने कर्णालीका १०५ जना

सुर्खेत – पछिल्लो समय कर्णाली प्रदेशमा संचालन हुने विभिन्न योजना तथा कार्यक्रममा अनियमितता बढ्दै गएको देखिन्छ । सरकारी कर्मचारीकै सेटिङमा योजना तथा कार्यक्रम बनाउनुका साथै बजेट दुरुपयोग पनि बढ्दै गएको पाइन्छ ।

एक तथ्यांकलाई हेर्दा सरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाख बढि रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर झ्वाम पारेका छन् । उनीहरुले ११ वटा योजनामा मात्रै ११ करोड ७३ लाख ६० हजार एक सय ६५ रपैंया भ्रष्टाचार गरेका हुन् ।

रकम हिनामिना भएको हरेक योजनामा सरकारी कर्मचारीको संलग्नता छ । ११ वटा योजनामध्ये मुगुमा चार, हुम्लामा चार, सुर्खेतमा दुई र डोल्पामा एक योजना रहेको छ । जसमा एउटा योजनाको काम नै नगरी गलत बिल भर्पाइ बनाइ रकम भुक्तानी गरिएको छ । भने अन्य योजनामा कम काम बढि भुक्तानी गरिएको, झुट्टा बिल भर्पाइ पेश गरी भुक्तानी गरिएको लगाएतका त्रुटि छन् ।

योजनाको रकम हिनामिना गरी गैरकानुनी लाभ तथा हानिनोक्सानी र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेको सूचिमा १०५ जनाको नाम उल्लेख छ । उनीहरु सबै विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा पेश भएका उजुरीका आधारमा आयोगको केन्द्रिय कार्यालयले मुद्दा दायर गरेको हो । यी मुद्दा चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन १२ गतेदेखि चैत १ गतेसम्मका मात्रै हुन् ।

अदालतको फैशलापछि भ्रष्टाचारमा जोडिएका १०५ जनाले नै बिगो रकम फिर्ता गर्नुका साथै दोषि ठहरिएमा मुद्दाको प्रकृति अनुसार तीन महिनादेखि १० बर्षसम्म कैद सजाय समेत भोग्नुपर्ने कानुनी व्यवस्था छ ।

ठुला याेजनामा ठुलैकाे स‌लग्नता

११ वटा योजनामध्ये सबैभन्दा धेरै बजेट अनियमितता भएको योजनामा सुर्खेत, सिम्ता गाउँपालिका ५ स्थित आली भन्ने स्थानमा रहेको हाइटेक नर्सरी निर्माण योजना पर्दछ । हाइटेक नर्सरी निर्माणमा गर्ने क्रममा चार करोड ६ लाख ७६ हजार एक सय २४ रुपंैया अनियमितता भएको हो ।

यो मुद्दामा सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसीलसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ । उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआएको अवस्थामा अध्यक्ष केसीसहितका ११ जनाले ८४ लाख ८६ हजार ६ सय ४२ रुपैयाँ भुक्तानी दिएपछि अनियमितताको रहस्य खुलेको हो ।

यो मुद्दाका आरोपितहरुमा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, सहायक वन अधिकृत टेकबहादुर रावल र लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्याय, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रका थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिका–५ का तत्कालीन वडाध्यक्ष मोहनकुमार बीसी रहेका छन् ।
०००
दोस्रो धेरै रकम अनियमितता हुनेमा योजनामा वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा निर्माणधिन अलपत्र शीत भण्डार योजना पर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकार िरत्नचन्द्र गौतमका अनुसार शीत भण्डार निर्माण कार्य गर्दा दुई करोड ८९ लाख १४ हजार एक सय ३४ रुपैंया अनियमितता भएको छ ।

यो योजनामा रकम हिनामिना गर्ने १६ जना आरोपित विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोप शिर्षकमा विशेष अदालतमा मुद्दा दायर छ । यसमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारी, तत्कालिन सवइन्जिनियर गणेश भण्डारी, तत्कालिन बरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापा रहेका छन् ।

यस्तै कृषि विकास निर्देशनालयका तत्कालिन निर्देशक भक्तिराम शर्मा, प्राविधिक सहायक गुरु प्रसाद अधिकारी र लेखा अधिकृत उत्तम कुमार बस्नेत आरोपित रहेका छन् । यस्तै तत्कालिन उच्च मूल्य कृषि वस्तु विकास कार्यलयका लेखाअधिकृत खिमलाल वली, कृषि अधिकृत सुरेशकुमार थापा, सहलेखापाल उषा ठाडा, सवइन्जिनियर सुवर्णराज भारती रहेका छन् ।

सोही मुद्दामा कर्णाली कोल्ड चेन लजिस्टक प्रा.लि सुर्खेतका संचालक समिति तत्कालिन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कंडेल र प्रवल शाही र इन्जिनियर महेश शर्माको नाम उल्लेख छ ।
०००
यस्तै तेस्रो धेरै बजेट हिनामिना भएको योजनामा हुम्ला, आदनचुली गाउँपालिका ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजाना पर्दछ । यस योजना निर्माणमा ११ जना व्यक्तिले एक करोड २६ लाख ८८ हजार ७६ रुपैंया अनियमितता गरेको उल्लेख छ ।

यस योजनामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, जयराम छत्याल, मंगल भण्डारी, लेखापाल दिपक नेपाली, ३ नम्बर वडाध्यक्ष दत्त बिष्ट, गाउँपालिका उपप्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा र धनसरा टमटा, उपभोक्ता समिति अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सृर्जना बुमीले रकम अनियमितता गरेको उल्लेख छ ।

अनियमितता भएका मुगुका चार योजना

सोरु गाउँपालिका ९ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणमा ५३ लाख नौ हजार ६ सय ७३ रकम हिनामिना भएको छ । योजनाको काम नै नगरी बजेट हिनामिना गर्ने जिल्ला इन्जिनियर तथा तत्कालीन जिल्ला प्राविधिक कार्यालय प्रमुख देवी प्रसाद पाण्डे सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

गैरकानूनी लाभ तथा हानी गरेको आरोपमा पाण्डे सहित इन्जिनियर महेश सिंह कठायत, भिमबहादुर रोकाया, सर्जन शाही, उपभोक्ता समिति अध्यक्ष दिपादेवि शाही, सचिव पूर्ण बहादुर शाही, कोषाध्यक्ष फुल्टउरा शाही विरुद्ध मुद्दा दायर भएको हो ।

यस्तै मुगु सोरु गाउँपालिका ९ स्थित तन्दवाडा–छडा सिँचाई आयोजना पर्दछ । यो आयोजनामा तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाले ८० लाख ४६ हजार ४२ रुपैंया हिनामिना गरेको उल्लेख छ ।

जसमा इन्जिनियर महेश सिंह कठायत, भिम बहादुर रोकाय, सिआइपी प्राविधिक सर्जुन बहादुर शाही र संयोजक प्रकाश बुढथापा, ९ नम्बर वडाध्यक्ष परुनाथ योगी, साविक कालै गाविस सचिव नव गिरी, उपभोक्ता समिति अध्यक्ष लोग बहादुर शाही, सचिव बैदेवी शाही र कोषध्यक्ष रुपा शाहीको नाम उल्लेख छ ।

यस्तै मुगु, छाँयानाथ रारा नगरपालिका २ मा पार्क निर्माण गर्दा त्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल सहित ७ जनाले ७२ लाख २९ हजार ९ सय १७ रुपैंया अनियमितता गरेका छन् । जसमा इन्जिनियर महेशसिंह कठायत, हस्त बहादुर मल्ल, लेखापाल रुन बहादुर सेजुवाल, कम्यूटर अपरेटर केशव बहादुर रावल र निर्माण उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर रावल र कोषाध्यक्ष बसन्ती रावल रहेका छन् ।

यस्तै मुगु छायाँनाथ रारा नगरपालिका ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित १० जनाले ५७ लाख २४ हजार ९ सय १९ रुपैंया अनियमितता गरेको उल्लेख छ ।

जसमा इन्जिनियर महेशसिंह कठायत, हस्तबहादुर मल्ल, उपभोक्ता समिति अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष विजुली मल्ल रहेका छन् । यस्तै अनुगमन समिति सदस्य चक्र बहादुर सावत, हजरकला कामी र तत्कालिन ८ नम्बर वडाध्यक्ष कर्ण रावत र सदस्य पशुपती शाहीको नाम उल्लेख छ ।

चंखेलीका तीन योजनामा भ्रष्टाचार

हुम्लाको चंखेली गाउँपालिकामा संचालित तीन वटा योजनामा ठुलो रकम अनियमितता भएको पाइएको छ । जसमध्ये चंखेली गाउँपालिका ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा २३ लाख ८८ हजार ८ सय ५२ रुपैंया अनियमितता गरेको पाइएको हो । यो योजनामा रकम अनियमितता गर्नेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही सहित ७ जनाको नाम उल्लेख छ ।

जसमा इन्जिनियर रुद्रबहादुर शाही, हकृधन बुढा, उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी, कोषाध्यक्ष डल्लि बुढा, ३ नम्बर वडाध्यक्ष सालिग्राम ऐडी रहेका छन् ।

यस्तै चंखेली गाउँपालिका ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा समेत २० लाख ५८ हजार ६ सय ५० रुपैंया अनियमितता भएको छ । यो योजनामा रकम हिनामिना गर्नेमा ८ जनाको नाम उल्लेख छ ।

जसमा तत्कालीन अध्यक्ष धनलाल चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मविर पल्लीमगर, सवइन्जिनियर अज बहादुर बुढा, उपभोक्ता समिति अध्यक्ष टेक बहादुर बुढा र सचिव हंशबहादुर ऐडी र वडा नं. ३ का वडाध्यक्ष सालिग्राम ऐडीको नाम उल्लेख छ ।

चंखेली गाउँपालिका ३ कै ब्याफु खानेपानी मर्मत योजनामा समेत १० लाख ३० हजार दुई सय १७ रुपैंया अनियमिता भएको छ । यो योजनामा तत्कालीन अध्यक्ष धनलाल चौलागाई सहित ९ जना रापोपितमध्य जना माथि उल्लेखित कर्मचारीहरु संलग्न देखिएका छन् । भने उपभोक्ता समितिका अध्यक्ष कालि बहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढाको नाम आरोप पत्रमा उल्लेख छ ।

यता अख्तियार आयोगका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा ३२ लाख ९३ हजार ५ सय ५६ रुपैंया हिनामिना भएको छ । यो योजनामा आरोपित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी सहित ८ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

जसमा इन्जिनियर देवराज रावत, दिपनारायण यादव, तत्कालिन ८ नम्बर वडाध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य रामकुमार नेपाली र वडाप्राविधिक इशारा बुढाको नाम आरोप पत्रमा उल्लेख छ ।