सगुनाको संघर्ष : एकै बर्ष सात पदमा लोकसेवा पास

सुर्खेत – मुगुको छायाँनाथ रारा नगरपालिका–१ क्षत्रीबाडा गाउँकी सगुना परियार उमेरले २५ बर्षकी हुनुभयो । सानैदेखि पढाइमा निकै मेहनती सगुना परियारको स्टाफ नर्स बन्ने सपना पनि पुरा भएको छ ।

लोकसेवा आयोगको परीक्षामा एकपछि अर्को सफलता प्राप्त गर्दै नाम निकाल्न सफल भएपछि हाल सगुना दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले एकै वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल हुनुभयो ।

हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजासँगै सगुना एकै वर्षमा ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्ने व्यक्तिको रुपमा सूचिकृत हुुनुभएको छ ।
सगुनाले क्रमश लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकाल्नु भएको हो ।

संघर्षले सफलता प्राप्त

निम्न परिवारमा जन्मनुभएकी सगुना परियार घरकी जेठी छोरी हुन् । सगुनाका बुवा आमाले गाउँमा खेतीकिसानी गर्नुहुन्छ । भने दुई भाई उच्च शिक्षा अध्ययनरत हुनुहुन्छ ।

सानैदेखि मुगु जस्तो दुर्गम गाउँको स्वास्थ्य समस्या नजिकले नियाल्नु भएकी सगुनालाई भविष्यमा डाक्टर बन्ने सपना थियो । घरबाट पूर्ण साथका पाएकी सगुना पढाइमा पनि अब्बल विद्यार्थी हुन् । महाकाली माध्यमिक विद्यालय गमगढीबाट एसएलसी उत्तीर्णपछि सगुनाले नर्सिङ पढाइका लागि छात्रवृत्तिमा नाम निकाल्नु भएको थियो ।

सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बर ल्याउदै नर्सिङ पास गर्नुभएकी सगुना परियारले हाल पब्लिक हेल्थ नर्सका रुपमा स्थायी जागिर खानु भएको छ ।

‘दुर्गम गाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो’ उहाँले भन्नुभयो, ‘जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाएँ । त्यसपछि छात्रवृत्तिमा नाम निकाल्न सफल भएँ ।’

मुगुको दुर्गम बस्तीबाट नर्सिङ पेशासम्मको यात्रा सगुनाका लागि सहज थिएन । तर म मेरो सोच पुरा गर्छु भन्ने आत्मविश्वास र मेहनलले सगुनाको उद्देश्य पुरा भएको छ । सेती महाकाली नर्सिङ क्याम्पसबाट पास भए लगत्तै सगुनाले स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गर्नुभयो ।

नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोच थियो । तर कोरोना महामारीका कारण रोकियो । कोरोना महामारी कै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरवन्दी खुलायो । त्यसपछि उहाँ लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौं जानुभयो ।

काठमाडौंमा एक महिना जस्तो तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उहाँको तयारी बीचमै रोकियो । तर अध्ययन कार्य जारी नै रह्यो । सगुनाले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिनुभयो । परीक्षा पश्चात नाम निस्के ठीकै छ, खालि किन बस्ने भनेर उहाँ सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थाल्नुभयो ।

विस्तारै लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाले । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उहाँले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोज्नुभयो । अन्तर्वार्तामा सफल भएर उहाँ गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत हुनुहुन्छ ।

आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउनुहुन्छ । ‘असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु नि पर्दैन’ उहाँले भन्नुभयो, ‘नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन् । भविष्य छैन भन्ने भाष्य गलत हो । त्यसका लागि मेहनत पनि गर्नुपर्छ ।’

पछिल्लो राम्रो सेवा सुविधा र पारिश्रमिकको लोभले दिनानुदिन दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । सुरक्षित भविष्य खोज्दै दैनिक देश छोड्ने अन्य युवाहरू जस्तै पछिल्लो समय स्टाफ नर्सहरू पनि विदेश जानेक्रम जारी छ ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार हालसम्म ३२ हजार नर्सले रोजगारीको खोजीमा नेपाल छाडिसकेका छन् । तर मुगुकी सगुना परियार, स्टाफ नर्स अध्ययनपछि रोजगारीका लागि वैदेशिक यात्राको सोच राख्नेहरूलाई आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने एक गतिलो उदाहरण बन्नुभएको छ ।