दैलेखका चार स्थानीय तहमा संबाद सम्पन्न, कृषि जोखिमबारे छलफल

दैलेख – दैलेखका चार स्थानीय तहमा संबाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ‘बजारको अनिश्चितता, कृषि लगानीमा जोखिम’ सम्बन्धि छलफल गरिएको हो ।

छलफलमा स्थानीय तहले बजारको अनिश्चितता हटाउँदै कृषिमा लगानी बढाउन जोड दिएका छन् । दैलेखको नौमुले, भगवतीमाई र भैरवी गाउँपालिका तथा दुल्लु नगरपालिकामा ‘बजारको अनिश्चितता, कृषि लगानीमा जोखिम’ सम्बन्धि संवाद कार्यक्रम गरिएको थियो ।

छलफलपछि स्थानीय तहले कृषिजन्य बस्तुको हाल बजारीकरणमा देखिएका समस्या समाधान गरी कृषिमा सरकारी तथा निजी क्षेत्रबाट लगानी बढाउनुपर्ने निश्कर्ष निकालेका छन् । चार वटै पालिकामा भएका छुट्टा टुट्टै संवाद कार्यक्रमका अवसरमा जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले यस्तो बताएका हुन् ।

हरेक पालिकाको कृषि शाखाको समन्वय तथा एन्साब नेपालको आयोजनामा ग्रेप परियोजना अन्तर्गत संवाद कार्यक्रम गरिएको हो । संवाद कार्यक्रमपछि कृषि तथा पशुजन्य बस्तुको बजारीकरणमा देखिएका समस्या क्रमश सुधार गर्दै लैजाने पालिकाले प्रतिबद्धता जनाएका छन् । यस्तै कृषिमा उत्साहीत हुनेगरी लगानी गर्ने वातावरण स्थानीय तहले सृर्जना गर्ने समेत जनाएका छन् ।

माघ २ गते जिल्लाको नौमुले गाउँपालिकामा, माघ ३ गते भगवतीमाई गाउँपालिका, माघ ४ गते भैरवी गाउँपालिका र मघ ५ गते दुल्लु नगरपालिकामा संबाद कार्यक्रम सम्पन्न भएको हो । संबाद कार्यक्रममा बोल्ने कृषकहरुले समयमै वीउ, प्रविधि र अनुदान नपाएको भन्दै सिचाँई असुविधा र जलवायू अनुकुलनमैत्री कार्यक्रम नहुनु जस्ता मुख्य समस्या रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले छलफलमा उठेका सबै बिषयवस्तुलाई गाउँपालिकाले बनाउने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जनाए । साथै किसान पहिचान र तथ्यांक संकलनमा लाग्न समेत उनले कर्मचारीलाई निर्देशन दिए । प्रयोगविहिन कृषि संकलन केन्द्रलाई खरिद बिक्रि केन्द्रको रुपमा स्थापना गर्दै बैशाख महिनाभित्र हाट बजार संचालन गर्ने उनले बताए ।

भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले कृषकहरुलाई उत्पादन बढाउन आग्रह गर्दै बजार सुनिश्चितताको जिम्मा पालिकाले लिने प्रतिबद्धता जनाए ।

कृषिजन्य वस्तु निर्यातका लागि ढुवानीमा अनुदान दिने व्यवस्था गरिएको भन्दै उद्यमी तथा व्यवसायीक कृषक उत्पादनमा जोड दिने उनको भनाइ छ । पहुँचको आधारमा नभई उत्पादन गर्ने वास्तविक कृषक तथा कृषि समूहलाई अनुदान दिने कार्यक्रम बनाउने उनको तयारी छ ।

भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले छलफलमा उठेका महत्वपूर्ण बिषयवस्तुलाई गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जनाइन । सिंचाइका लागि धेरै ठाउँमा पानी तल खेतीयोग्य जमिन माथि हुदाँ समस्या भएकोले समाधानका प्रयास अपनाइने उनको भनाइ छ । कृषि संकलन केन्द्र स्थापना गरी कृषिजन्य वस्तु खरिद बिक्रिमा सहजता ल्याउने समेत भण्डारीले जानकारी दिइन् ।

यता दुल्लु नगरप्रमुख भरत रिजालले आगामी बैशाख महिनाभित्र कृषि संकलन केन्द्र संचालनामा ल्याउने जानकारी दिए । साना किसानले उत्पादन गरेका वस्तु बिक्रिमा सहजताका लागि हाट बजार संचालन गरिने भन्दै कृषि उत्पादनको पालिकाले बजार ग्यारेण्टि लिने उनको प्रतिबद्धता छ ।