
सुर्खेत – जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन लयमा फर्किन थालेको छ । अन्तरिम सरकार गठन भएर मुलुकको स्थिति सामान्य भएसँगै प्रदेश सरकारले पनि आफ्ना काम अघि बढाउन थालेको हो । आन्दोलनका क्रममा कर्णालीले पनि ठूलो भौतिक क्षति बेहोर्नुप¥यो । अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउने मुख्यमन्त्री यामलाल कँडेलले बताए ।
भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै उनले आवश्यक संरचनाको निर्माण गरेर काम सुरु गरिने जानकारी दिए । आन्दोलनका केही बुँदामा आफ्नो पनि सहमति रहेको भन्दै भौतिक संरचनाहरूको पुननिर्माण सँगसँगै क्षति पु¥याउनेहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताए । आन्दोलनमा घुसपैठ भएको र केही व्यक्तिहरूले हिंसात्मक गतिविधि गराएको उनको निष्कर्ष छ । त्यसैले कानुनबमोजिम उनीहरूलाई कारबाही गरिनुपर्ने र जेनजी आन्दोलनबाट भएको पाठ सिकेर अघि बढ्नुपर्ने उनले बताए ।
‘अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउनेछ । त्यसका लागि प्रदेश सरकार अब ठोस योजना बनाउने छ,’ उनले भने, ‘माओवादी युद्धको बेलाभन्दा पनि अहिले देशमा बढी क्षति भएको छ । ०७२ र ०८० को भूकम्पका कारण भएका क्षतिबाट कर्णाली अझै माथि उठ्न सकेको छैन । जेनजी आन्दोलन र त्यसबाट भएको क्षतिले प्रदेशलाई थप आर्थिक चुनौती थपियो ।’
आन्दोलनको मूल उद्देश्य शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष रहेपनि आन्दोलनको रूप मोडिएका कारण देशले ठूलो क्षति बेहोर्नुपरेको हो । नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड गरी अर्बौँको क्षति पु¥याएपछि अहिले सेवा नै ठप्प बनेको छ । संविधानले दिएको क्षेत्राअधिकारमा रहेर काम अघि बढाउने तयारी छ । आन्दोलनमा क्रममा गरिएको आगजनीबाट सबैभन्दा बढी क्षति कर्णाली प्रदेशसभामा भएको छ ।
प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी छैनन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगजनीका कारण एक अर्बभन्दा बढीको क्षति भएको बताएका छन् । प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित छैनन् । प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका हुन् । प्रदेशसभासँगै नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड भएको छ ।
आन्दोलनकारीले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि पूर्णरूपमा क्षति पु¥याएका छन् । पार्किङमा राखिएका सवारीसाधनसँगै कार्यालयभित्र पसेर गरिएको तोडफोड र आगजनीका कारण लेखासम्बन्धी सम्पूर्ण कागजात नष्ट भएका छन् । कागजातसँगै कम्प्यूटर, प्रिन्टरलगायतका भौतिक संरचना पूर्णरूपमा नष्ट भएका हुन् । लेखा नियन्त्रक कार्यालयमा क्षति पुगेसँगै प्रदेशका सम्पूर्ण आर्थिक गतिविधिहरू नै ठप्प भएका छन् ।
आन्दोलनकारीले नापी कार्यालय सुर्खेतमा समेत पूर्णरूपमा क्षति पु¥याएका छन् । आगजनीका कारण कार्यालयका जग्गा नापजाँचसम्बन्धी सम्पूर्ण कागजातहरू जलेर नष्ट भएको कार्यालय प्रमुख दिनेश भण्डारीले बताए । यसबाहेक वीरेन्द्रनगर नगरपालिकासहित विभिन्न वडा कार्यालयहरूसमेत क्षतिग्रस्त छन् । आन्दोलनकारीले वीरेन्द्रनगर नगरपालिका वडा नं। १ देखि १२ वडा कार्यालयहरूमा पूर्णरूपमा क्षति पु¥याएका छन् ।
उनीहरूले एकपछि अर्को गर्दै सरकारी संरचना ध्वस्त बनाएपनि अहिले सेवा नै ठप्प बनेको छ भने कर्मचारीहरूले कसरी काम सुरु गर्ने मेलोमेसो नै पाएका छैनन् । वीरेन्द्रनगरस्थित सभाहल, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनीबाट ठूलो मात्रामा क्षति भएको छ । मुख्यमन्त्री यामलाल कँडेल, नेपाली काँग्रेसका उपासभापति पूर्णबहादुर खड्का, उनका भाइ डाक्टर डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुुख नीलकण्ठ खनालको निजी घरमा समेत तोडफोड र आगजनीका साथै धनमाल लुटपाट भएको छ ।