सुर्खेतमा दुई अर्ब १४ करोड ४२ लाख राजस्व संकलन

सुर्खेत – गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांकलाई हेर्दा सुर्खेतमा राजस्व संकलन उत्साहजनक देखिएको छ । कर्णाली प्रदेशको आर्थिक केन्द्रको रूपमा विकास हुँदै गइरहेको सुर्खेतमा राजस्व संकलन उत्साहजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले दुई अर्ब १४ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।

यो तथ्यांक अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा एक दशमलव ७३ प्रतिशतले बढी हो । उक्त वर्ष कार्यालयले एक अर्ब ८६ करोड ८१ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो । राजस्व संकलनको यो वृद्धिले कर्णालीमा बढ्दो आर्थिक गतिविधि र कर सहभागिताको सकारात्मक चित्र प्रस्तुत गरेको आन्तरिक राजस्व कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले गत आर्थिक वर्षमा राजस्व संकलनमा वृद्धि भएको जानकारी दिए ।

कर कानुनको पालना बढ्दै गएकाले सोहीअनुसार नै राजस्व संकलन बढेको उनले बताए । ‘सरकारले करका दायरा विस्तार गर्दै गएकाले पनि कर वृद्धि भएको हो । राजस्व बढाउन करको दायरा विस्तार पनि महत्वपूर्ण हो,’ उनले भने, ‘करको क्षेत्र बढ्दै गएको छ भने कर दाखिला गर्नेको संस्था बढ्दै गएका छन् । आर्थिक गतिविधि र व्यापारिक कारोबार बढ्दा पनि कर संकलन बढ्छ ।

कर्णाली प्रदेश राजधानी भएकाले पनि सुर्खेतमा व्यापारिक गतिविधि धेरै हुने गरेका छन् । बक्यौता करको असुली हुनुले पनि राजस्व संकलन दर बढ्ने जनाइएको छ । तर राजस्व कार्यालयले निर्धारण गरेको लक्ष्य भने अझै पूरा हुन सकेको छैन । गत वर्ष दुई अर्ब ४९ करोड ८६ लाख रूपैयाँको लक्ष्य राखिएकोमा ८५.८२ प्रतिशत मात्रै प्रगति हासिल भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत पौडेलका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी योगदान आयकरबाट भएको छ । आयकर शीर्षकमा एक अर्ब ३१ करोड ३२ लाख रूपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.०६ प्रतिशतले बढी हो । त्यस्तै मूल्य अभिवृद्धि कर ९भ्याट०बाट ६८ करोड रूपैयाँ संकलन भएको छ । जसमा १३.४१ प्रतिशतको वृद्धि देखिएको छ । ब्याज करमा सबैभन्दा उत्साहजनक ३०.२० प्रतिशत र अन्तःशुल्कमा २२.८७ प्रतिशतको वृद्धि देखिएको छ ।

अधिकांश शीर्षकमा राजस्व संकलन बढेपनि घरबहाल करमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा घरबहाल कर संकलनमा एक दशमलव ९८ प्रतिशतले कमी आएको छ । यस शीर्षकमा सात करोड ४० लाखको लक्ष्य राखिएकोमा जम्मा चार करोड ३९ लाख मात्रै राजस्व संकलन भएको छ । जुन लक्ष्यको ५९ दशमलव ३९ प्रतिशत मात्रै हो । कार्यालयका अनुसार उक्त कार्यालय अधिकार क्षेत्रमा व्यावसायिक निकायहरूको घरबहाल कर मात्र आउँछ ।

प्राकृतिक व्यक्तिको घरबहाल कर स्थानीय तहमा जाने व्यवस्था छ । कार्यालयले राजस्वको दायरा र व्यक्तिको घरबहाल कर स्थानीय तहमा जाने व्यवस्था छ । कार्यालयले राजस्वको दायरा र संकलनमा प्रगति गरेपनि निर्धारित लक्ष्य पूरा गर्न थप प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । कार्यालयले अधिकांश शीर्षकमा अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि गरेपनि लक्ष्यभने पूरा भएको देखिँदैन । त्यसका पछाडि विभागको तोकेको लक्ष्यअनुसार राजस्व कार्यालयले अपेक्षित रूपमा काम गर्न नसक्नु हो ।

आन्तरिक राजस्व कार्यालयले राजस्व संकलनसँगै करको दायरा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । कार्यालयले एकै वर्षमा १७ हजार ६७० नयाँ करदातालाई प्रणालीमा दर्ता गरेको छ । कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या १३ हजार ८५० छ । यसले व्यक्तिगत आयलाई करको दायरामा ल्याउने प्रयास सफल हुँदै गएको देखाउँछ । यसैगरी तीन हजार २०३ नयाँ आयकरदाता, ४०४ मूल्य अभिवृद्धि कर ९भ्याट० र ११५ अन्तःशुल्कमा नयाँ फर्म तथा कम्पनी दर्ता भएका छन् ।

विथहोल्डर स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ६३ छ । हाल जताततै प्यान नम्बर अनिवार्य गराइएका कारण करदाता बढेका हुन् । करको दायरामा नआएकाहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिन लगाइएको छ । बजार अनुगमनको क्रममा पनि दर्ता नभएकाहरूलाई दर्ता गराउने गरिएको छ । जुनसुकै आर्थिक कारोबारमा पनि स्थायी लेखा नम्बर नलिई कारोबार गर्न नहुने भन्ने कुरा लागु भएको छ । त्यसैले सबैले लेखा नम्बर लिएका कारण पनि करदाता सङ्ख्यामा वृद्धि आएको हो । अन्य जिल्लाको तुलनामा सुर्खेतमा आर्थिक कारोबार बढी हुने गरेको छ ।