सुर्खेत । जाजरकोटमा विनाशकारी भूकम्प गएको एकसाता बढी हुँदासमेत सबै पीडितले राहत पाएका छैनन् । कात्तिक अन्तिमको कठ्यांग्रिँदो जाडोमा केहीपीडित खुला आकाशमुनि त्रिपालको भरमा रात काट्न बाध्य छन् । केहीले त्यही त्रिपाल पनि पाएका छैनन् । भूकम्पमा जसोतसो ज्यान जोगाएका प्रभावितलाई चिसोबाट बच्न चुनौती थपिएको छ । चिसोको मारमा बढीजसो वृद्धवृद्धा, बालबालिका र सुत्केरी महिलाहरू परेका छन् । अझै निमोनियालगायत दीर्घ रोग भएका पीडितलाई थप समस्या भएको छ ।
खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात काटिरहेका उनीहरू बिरामी पर्न थालेका छन् । अत्याधिक जाडोले भूकम्पमा जसोतसो बाँचेका दुई पीडितको ज्यानै लिएको छ । बिहीबार र शुक्रबार दुई दिनमा दुई पीडितको चिसोले ज्यान लिएको हो । ज्यान गुमाउनेमा नलगाड नगरपालिका(४ लहँका ४८ वर्षीया पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल रहनुभएको छ । गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार निमोनिया भएपछि पम्फालाई दल्लीस्थित नगर अस्पताल पु¥याइएको थियो । उहाँको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको उहाँले बताउनुभयो ।
३७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेका छन् । दल्ली नगर अस्पतालका डा। विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिनुभयो । अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक १५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
एक करोड ९० लाखका पशुपन्छी क्षति
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छी क्षति भएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा एक करोड सात लाख बराबरको क्षति भएको मूल्यांकन गरिएको छ । दुवै जिल्लामा ६०६ घाइते पशुको उपचारसमेत गरिएको छ भने जाजरकोटमा मात्रै ५९२ पशुको उपचार गरिएको छ ।
कांग्रेस महामन्त्रीद्वयको सुझाव – चिसोले प्रभावितलाई कष्टकर बनाउँदै छ, मंसिरभित्र अस्थायी आवास निर्माण सक्नुपर्छ
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमणबाट फर्कपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । शनिबार प्रधानमन्त्रीलाई उहाँकै निवास बालुवाटार पुगेर महामन्त्रीद्वय थापा र शर्माले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्रमा राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेसहितका सुझाव दिइएको छ । राहत वितरण गर्दा नेतृत्व स्थानीय तहको र समन्वय सर्वदलीय संयन्त्रको नीतिलाई हरेक वडा तहसम्म पालना गर्न सुझाव उहाँहरूले सुझाव दिनुभएको छ । त्यस्तै, चिसो बढ्दै गएको समयमा सुत्केरी, बालबालिका, वृद्धवृद्दा र अपांगता भएका नागरिकलाई चिसोले थप कष्टकर अवस्थामा पु¥याउने भएकाले मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न आग्रह गरिएको छ ।
समग्र पुनर्निर्माण सक्न समय लाग्ने भएकाले अस्थायी आवास युद्धस्तरमा निर्माण गर्न प्रत्येक प्रभावित परिवारलाई न्यूनतम ४० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गर्न महामन्त्रीद्वयले सुझाव दिएका छन् । अस्थायी आवास कम्तीमा एउटा जाडो र एउटा बर्खा झेल्न सक्ने गरी निश्चित मापदण्डको आधारमा बलियो बनाउन जरुरी रहेको सुझावमा उल्लेख छ ।
प्रभावित क्षेत्रमा आंशिक क्षतिग्रस्त भनिएका÷देखिएका घरहरूमध्ये केहीबाहेक प्रायः बस्न मिल्ने अवस्थामा नरहेको उनीहरूको भनाइ छ । राहतदेखि अस्थायी आवास हुँदै पुनर्निर्माणसम्म पुग्दा अर्बौं रुपैयाँ खर्च हुने देखिएको भन्दै सांसद विकास कोषका रूपमा परिचित कार्यक्रमका छुट्याएको आठ अर्ब रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाउन माग गरिएको छ ।
राहत वितरण अपेक्षाकृत हुन नसकेको समितिको निष्कर्ष
संसदीय समितिले राहत वितरण अपेक्षाकृत प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किएको समितिले भौगोलिक विकटता, जनशक्ति अभाव तथा व्यवस्थापनको कमीले पीडित परिवारले तत्कालै राहत पाउन नसकेको निष्कर्ष निकालेको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दूरदराजका कतिपय गाउँमा अझै धेरै राहत पुग्न नसकेको जनाएको छ । राहत सामग्री सदरमुकाम र पालिकासम्म पुगेको भए पनि दूरदराजमा अझै पनि नपुगेको समितिको निष्कर्ष छ ।
समितिले एकद्वार प्रणाली राम्रो भए पनि जात, पार्टी, गुट, क्षेत्रका आधारमा भन्दा पनि सबैलाई एकैखाले व्यवहार हुने गरी हेर्नुपर्ने सुझाव दिएको छ । उद्धारमा सरकारको तदारुकता देखिए पनि समन्वय अभावले राहत वितरणमा ढिलाइ हुन पुगेको समितिको निष्कर्ष छ ।
चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्नेतर्फ पनि समितिले सचेत गराएको छ । समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदमसहित सुझाव प्रतिवेदनसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति समितिले प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएको छ । समितिले राहत र पुनर्निर्माण प्रभावकारी बनाउन विभिन्न सझाव दिएको छ । भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सांसदहरूबाट प्राप्त सुझावहरू राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो ।
विप्लवद्वारा भूकम्प पुनर्निर्माणको उद्घाटन
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गर्नुभएको छ । भूकम्पमा घर भत्केका एकल परिवारले विकको घर पुनर्निर्माण गरी उद्घाटन गरेर अभियानको थालनी गर्नुभएको हो । पार्टीद्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुग्नुभएका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरूसँगको छलफलपछि शनिबार बिहान पुनर्निर्माण अभियानको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उनीहरूले जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँगै भएको बताएका थिए । नलगाड गाउँमा १३ जनाको भूकम्पमा परी मृत्यु भएको छ । भूकम्पपीडितको राहत तथा उद्धारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएका छन् । विप्लव र प्रकाण्ड आइतबार रुकुमका प्रभावित बस्ती जाने कार्यक्रम छ ।
अस्थायी घर बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने
भूकम्पमा घरबास गुमाएका पीडितहरूलाई सरकारले अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिदलगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो । बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरुङलगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । कात्तिक १७ मा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबासविहीन भएका छन् ।