चिसोले थप एक भूकम्पपीडितको मृत्यु, त्रिपाल र कम्बलको अभाव

सुर्खेत – जाजरकोटको छेडागाड नगरपालिका-१३ मा चिसोका कारण भूकम्पपीडित एक महिलाको ज्यान गएको छ। पालमुनि बस्दै आएकी ६३ वर्षीया मनसरी कामीको आज बिहान मृत्यु भएको नगरप्रमुख रत्नबहादुर खड्काले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार मनसरा दमकी रोगी थिइन्। योसँगै चिसोले ५ जना भूकम्पपीडितको ज्यान गएको छ भने कात्तिक १७ गते गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। चिसो बढेसँगै पालिकामा भूकम्पपीडितहरू विरामी पर्न थालेको नगरप्रमुख खड्काले बताए।

यस पालिकामा अहिले ३ हजार ५ सय परिवार बाहिर बसिरहेकामा १ हजार १ सय परिवारलाई मात्रै त्रिपाल दिन सकिएको नगरप्रमुख खड्काले जानकारी दिए।

त्यस्तै ७ सय परिवारलाई कम्बल वितरण गरिएको छ। भूकम्प प्रभावितको व्यवस्थापनमा समस्या भइरहेको उनले बताए। अहिले त्रिपाल र कम्बल अभाव रहेको बताउँदै उनले सहयोगका लागि सबैमा अपिल पनि गरेका छन्।