असुरक्षित सडक : ३ बर्षमा कर्णालीका ८६ को मृत्यु, १२८२ जना घाइते

सुर्खेत – बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने कर्णालीका अधिकांश सडकको यात्रा सुरक्षित छैन । त्यसैमा झन् कर्णाली राजमार्गलाई मृत्युमार्गको उपमा दिइन्छ ।

दुर्घटनाको उच्च जोखिममा रहेका कर्णालीका सडकको यात्रा चाडपर्वमा झन् जोखिम मानिन्छ । तथ्यांक अनुसार सडक दुर्घटनाकै कारण विगत तीन बर्षभित्र कर्णालीका ८६ जना व्यक्तिले अकालमा ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत तीन बर्षमा भएका सात सय एक सवारी दुर्घटनामा ८६ जना व्यक्तिले अकालमा ज्यान गुमाएका हुन् । सोही दुर्घटनामा परी तीन सय ६४ जना व्यक्ति गम्भिर घाइते भएका थिए । भने नौ सय १८ जना सामान्य घाइतेपछि निको भएका छन् ।
अन्य समय भन्दा चाडपर्वको बेला सडक दुर्घटनाको जोखिम बढ्दो छ । कच्चि सडक, क्षमता भन्दा बढि यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउने जस्ता विभिन्न कारणले सवारी दुर्घटना हुने गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को असोज महिना तथा चाडपर्वको समयमा मात्रै ३३ वटा सडक दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । यस्तै २०७७÷०७८ को असोज महिनामा १८ वटा र २०७८÷०७९ मा २३ वटा सडक दुर्घटना भएका थिए ।

सडक दुर्घटनाको यो ग्राफलाई हेर्ने हो भने गत तीन आर्थिक वर्षको असोज महिना अर्थात चाडपर्वका समयमा मात्र कुल ७४ वटा सडक दुर्घटना भएको देखिन्छ । आ.ब २०७६÷०७७ को कार्तिक महिनामा २० वटा, २०७७÷०७८ को कार्तिकमा २९ र २०७८÷०७९ को कार्तिकमा ४१ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।

चाडपर्वका बेला गाउँघर फर्किनेहरुको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढि यात्री बोक्ने, तीव्र गतिमा गाडी चलाउने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ ।

चहलपहल बढ्यो

यस वर्षको दशैंको रौनक सुरु भएसँगै कर्णाली भित्रने र बाहिरिने नागरिकको संख्या पनि दिनानुदिन बढ्दै जान थालेको छ । रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि प्रदेशभित्र र बाह्य जिल्लामा रहेका यहाँका नागरिकहरु चाडपर्व नजिकिएसँगै धमाधम घर फर्कन थालेका छन् ।
कर्णालीमा खासगरी रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका श्रमिक तथा विद्यार्थीहरुको ठुलो संख्या दशैं तिहार विदामा घर फर्कने गर्दछन् । कर्णाली भित्रने मुख्य मार्ग भनेको स्थल मार्ग नै हो । कर्णाली भित्रने मुख्य चार नाकाबाट हाल दैनिक हजारौंको संख्यामा नागरिकहरु स्थलमार्ग हुँदै कर्णाली प्रवेश गरिरहेका छन् ।

यात्राका लागि सडकमार्ग निर्विकल्प कर्णालीका लागि यात्रुहरुले वर्षेनी बाटोमा सास्ती व्यहोर्नु पर्ने बाध्यता मात्रै होइन ज्यानसमेत गुमाउनु पर्ने अवस्था छ । सरकारले कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको फितलो कार्यान्वयनका कारण सडक दुर्घटना घट्नुको साटो बढ्दै गएका छन् ।

यहि असोज १२ गते दशैंको लागि घर फर्किने यात्रु बोकेर बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जिप दुर्घटना हुदाँ सवार नौ जनाको घटनास्थलमै ज्यान गयो । मृत्यु हुने कपुरकोट गाउँपालिका ६ जलवाङका सबै एकै गाउँका हुन् । सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आइरहेको ट्रक दुर्घटना हुदाँ ट्रक चालक अविनाश लामाको मृत्यु भयो ।

यस्तै असोज १५ गते सल्यानकै कुमाख गाउँपालिका ७ डुमकोटमा रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भयो भने, १७ जना घाइते भए । सोही दिन जुम्लाको तिला गाउँपालिका १ कालजेनीमा खंलगाबाट नराकोटतर्फ जाँदै गरेको भे १ च १८७३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुदाँ इलाका प्रशाशन कार्यालय नाराकोटका प्रमुख मधुशंकर उपाध्यायसहित ४ जना घाइते भए । उनीहरू दसैँ मान्न घर फर्किदै थिए ।

उल्लेखित घटना उदाहरण मात्रै हुन् । तर बर्षेनी चाडपर्वका बेला कर्णालीमा सवारी दुर्घटना बढ्दै गएका छन् । यता यातायात व्यवसायी संघ कर्णाली प्रदेशका संयोजक रमेशकुमार सापकोटाले यसबर्ष चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन प्रतिवद्ध रहेको बताउनुहुन्छ ।

यस्तो छ सुरक्षा निकायको तयारी

सडक सुरक्षाको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले चाडपर्वका समयमा चेकजाँच तथा जनचेतनालाई बढवा दिइएको जनाएको छ । अघिल्ला वर्षहरुमा झै कर्णाली प्रदेश प्रहरीले चाडपर्वका समयमा हुने सडक दुर्घटना जोखिम न्युनिकरणका लागि नागरिक सहायता कक्ष, नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही, ट्राफिक सहितको संयुक्त चेकजाँचलगायतका कार्यक्रमहरु अघि सारेको छ ।

चाडपर्व सुरक्षा कार्य योजना २०८० मा सवारी दुर्घटना जोखिम न्यूनिकरणका लागि प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरी सहित संयुक्त चेकजाँच सञ्चालन गरिने नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रवत्ता प्रहरी निरीक्षक भुपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

यसका साथै ३१ स्थानमा नियमित चेकजाँच, आवश्यकता अनुसार आकस्मिक चेकजाँच, १८ स्थानमा लामो दूरिका सवारी चेकजाँच (दुई जना चालकको व्यवस्था) गर्ने प्रहरीको योजना छ । यसैगरी प्रदेशका २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवत्ता शाहीले बताउनुभयो ।
शाहीका अनुसार लामो दुरीमा सञ्चालन हुने सवारी साधनका लागि तीन ठाउँमा यात्रु विश्राम कक्ष निर्माण गरिएको छ । कर्णाली राजमार्गमा चल्ने सवारीका लागि सुर्खेतको बड्डिचौर, प्रदेश बाहिरिने सवारीका लागि सुर्खेतकै छिन्चु र डोल्पा सडक खण्डमा सल्यानको कपुरकोटमा यात्रु विश्राम कक्ष स्थापना गरिएको हो ।

चाडपर्वका समयमा सवारी साधनमा यात्रुसँग बढी असुल गर्ने, दुव्र्यहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने प्रहरीको कार्ययोजना रहेको शाहीको भनाई छ ।