इजरायलबाट २५३ जनाको उद्दार ! कहिले ल्याइन्छ १० नेपालीको शव ?

काठमाडौं – इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे । जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए ।

उनीहरूमध्ये कोही एक महिना अगाडि मात्र इजरायल गएका थिए त कोही दुई महिना अगाडि ।बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनीहरूमध्ये अधिकांशले भनिरहेका थिए– धन्यवाद नेपाल सरकार !

यता परराष्ट्रमन्त्री एनपी साउदले कानुनी प्रक्रिया पूरा भएपछि मात्र इजरायलबाट शव ल्याउन सकिने बताएका छन् ।

इजरायलबाट नेपाली विद्यार्थी ल्याएर बिहीबार राति त्रिभुवन विमानस्थलमा अवतरण गरेका मन्त्री साउदले इजरायले शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको बताए ।

अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ,  साउदले भने । असोज २० गते हमास समूहको आक्रमणमा परेर १० नेपालीले ज्यान गुमाएका थिए ।