कृषि बजारीकरणको योजना बनाउँदै वीरेन्द्रनगर

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले उत्पादित कृषिजन्य वस्तुको बजारीकरणको लागि नगरपालिकाले योजना बनाउन लागेको जानकारी दिएकी छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न कृषि उत्पादनमा जलवायू परिवर्तनको असर र बजारीकरणको अवस्थाबारे पालिका स्तरीय संबाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘नगरपालिमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुको संभावना र अवस्थाबारे अध्ययन भइरहेको छ । यसबारे तथ्यांक संकलन गछौं’ उनले भनिन्, ‘हाल कृषकका कुनै पनि उत्पादनले मुल्य र बजार नपाउने संभावना छैन । तर उत्पादनमा कमि छ । अब नगरपालिकाले बजारीकरणको योजना बनाउँदैछ । यसपछि विद्यमानन समस्या अन्त्य हुनेछन् ।’

हाल भइरहेको खेती प्रणालीलाई नयाँ प्रविधिमा जोड्दै व्यवसायीक कृषक र कृषि उत्पादनमा नगरपालिकाले जोड दिने उनले बताइन् । वीरेन्द्रनगरमा कृषकका उत्पादित वस्तुलाई सहज रुपमा बिक्रि गर्न व्यवस्थीत हाट बजार संचालनका लागि प्रयास भइरहेको नगरप्रमुख ढकालको भनाइ छ । विद्यमान ऐन कानुनले समेत असहज अवस्था रहेको भन्दै सहज नीति बनाएर कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउने रणनीति अपनाउने उनले बताइन् ।

‘कृषि र मासुजन्य वस्तु उत्पादनका क्षेत्रमा रहेको समस्या समाधान गर्दै जानेछौं’ उनले भनिन्, ‘जसका लागि उत्पादित वस्तुको बजार मुल्य निर्धारण, संकलन केन्द्र स्थापना, हाट बजार संचालन जस्ता केही तत्काल गर्न सकिने कामहरु पनि गर्नेछौं ।’

नगरपालिकाको कृषि शाखाको समन्वय तथा एन्साब नेपालको आयोजनामा ग्रेप परियोजना अन्तरगत संवाद कार्यक्रम गरिएको हाे । परियोजनाले जलवायू अनुकुलनको प्रविधिबारे कृषि सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ । उक्त संवाद कार्यक्रमको सहजिकरण पत्रकार सुशिल खड्का र नन्दराम जैशीले गरिरहेका छन् ।

कार्यक्रममा कृषि क्षेत्रमा रहेका विद्यमान समस्या र समाधानको विकल्पको खोजिका लागि कृषक र सरोकारवालाबिच संबाद गरिन्छ । वीरेन्द्रनगरमा सम्पन्न संवाद कार्यक्रममा कृषि उत्पादनदेखि बजारीकरणसम्मको अवस्था, जलवायू परिवर्तनले कृषिमा निम्त्याएको समस्या र समाधानको विकल्पबारे छलफल भएको थियो ।

कार्यक्रममा विभिन्न कृषक समूह, कृषि उद्योग, कृषि संकलन केन्द्र तथा कृषि व्यापारीदेखि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश कृषकहरुले समयमै मल, वीउ र कृषि प्रविधिबारे ज्ञान नपाएको, कृषि तथा मासुजन्य वस्तुको उचित मुल्य नपाएको जस्ता समस्या राखेका थिए ।

कार्यक्रममा बोल्दै कृषक नारद प्रसाद भट्टराइले नगरपालिकाले अन्य भन्दा कृषि उत्पादनमा लगानी कम गरेको आरोप लगाए । जलवायू परिवर्तनका कारण पछिल्लो समय कृषि, तरकारी तथा फलफुलमा नयाँ नयाँ रोग किराको प्रकोप बढेको भन्दै पालिकाले रोग किरा व्यवस्थापनमा ध्यान नदिएको समेत गुनासो गरे ।

कार्यक्रममा सहभागीहरुले पालिकाले दिने कृषि अनुदानका कार्यक्रममा राजनीति हुने गरेको, कृषि प्राविधिकहरु गाउँ नपुग्ने, कोल्ड स्टोर संचालन नहुदाँ तरकारी स्टोरमा समस्या र मनलाग्दी बिषी प्रयोगले स्वास्थ्यमा असर, हर्रेको बिषादी प्रयोगशाला नबन्दा अर्गानिक उत्पादनमा चुनौती लगाएतका समस्या राखेका थिए । उक्त सबै समस्या समाधानका लागि नगरपालिका लागि पर्ने भन्दै नगरप्रमुख मोहनमाया ढकालले जबाफ दिएकी दिइन् ।

बुलबुले हाट बजार संचालन समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीले स्थानीय उत्पादनले बजार माग पुर्ती गर्न नसकेका कारण व्यपारीहरुले भारतिय तरकारी भित्र्याउन बाध्य भएको बताए । वीरेन्द्रनगर नगरपालिका पशुपंक्षी शाखा प्रमुख यज्ञप्रसाद ढकालले पछिल्लो समय पशुमा लम्पि स्किन जस्ता नयाँ नयाँ रोगका कारण व्यवसायीले ठुलो घाटा बेहोर्नु परेको बताए ।

यस्तै वीरेन्द्रनगर नगरपालिका कृषि शाखा प्रमुख हेमराज केसीले कृषि उत्पादनलाई बृद्धि गर्न पालिकाले सिचाइँ सेवामा कार्यक्रममा जोड दिएको बताए । साथै अर्गानिक उत्पादनमा नगरपालिकाको जोड रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि मन्त्रालय कर्णाली प्रदेशका कृषि अधिकृत रामभत्त अधिकारीले कृषकहरुले संभाव्यता अध्ययनविनै अनुदान माग्ने र दिने चलनले उपलब्धि नदेखिएको प्रष्टपारे । साथै प्रदेश सरकारले दिने कृषि ब्याज अनुदान कार्यक्रमको प्रक्रियागत झन्झटका कारण कृषकले सेवा लिन नसकेको बताए । तर प्रदेश सरकार अर्गानिक प्रदेश घोषणा कार्यावयनमा लागेको उनको भनाइ छ ।