भेरीगंगा नगरपालिका दुध र मासुमा आत्मनिर्भर छ : मेयर ढकाल

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले पालिका दुध र मासुमा आत्मनिर्भर भएको बताएका छन् । छिन्चुमा मंगलबार सम्पन्न कृषि उत्पादनमा जलवायू परिवर्तनको असर र बजारीकरणको अवस्थाबारे पालिका स्तरीय संबाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सबै तथ्यांकमा उल्लेख छैनन् । तर उल्लेखित तथ्यांकलाई हेर्दा पनि हामी दुध र मासुमा पूर्ण आत्मनिर्भर छौं । यहाँका किसानले उत्पादन गरेको दुध र मासु पालिकालाई पुगेर निर्यात हुने गरेको छ’ उनले भने, ‘हामी तरकारीमा ९ महिना मात्रै आत्मनिर्भर छौं । अन्य कृषिमा आत्मनिर्भर बन्ने चरणमा छौं ।’

आयात प्रतिस्थापन गर्न गुणस्तिरीय कृषि उत्पादनमा पालिका लागि परेको उनले बताए । कृषि र मासुजन्य वस्तु उत्पादनका क्षेत्रमा रहेको समस्या समाधान गर्दै जाने उनको भनाइ छ । जसका लागि उत्पादित वस्तुको बजार मुल्य निर्धारण, संकलन केन्द्र स्थापना, हाट बजार संचालन जस्ता केही तत्काल गर्न सकिने कामहरु गर्ने उनले प्रतिबद्धता जनाए ।

‘कृषकको बारीमा उत्पादित तरकारी सहजै बजारीकरणका लागि बाटोको मुख्य समस्या छ । बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य गाउँका सडकका कारण कृषि उत्पादले उचित मुल्य पाएको छैन’ उनले भने, ‘यो समस्या अन्त्यका लागि सडक बनाउन पालिकासँग बजेट अभाव छ । सामान्य मर्मत गर्ने मात्रै बजेट हुन्छ । यसका लागि प्रदेश र संघ सरकारलाई निर्णय सहित गुहार माग्दा पनि सुनुवाइ भएको छैन ।’

नगरपालिकाका अनुसार भेरीगंगाबाट गत बर्ष मात्रै २६ लाख लिटर दुध निर्यात भएको थियो । यस्तै तीन हजार चार सय ५० वटा बसिबोका र आठ हजार पाँच सय केजि कुखुराको मासु निर्यात भएको पशुपंक्षि शाखाले जनाएको छ ।

कृषि शाखाको समन्वय तथा एन्साब नेपालको आयोजनामा ग्रेप परियोजना अन्तरगत संवाद कार्यक्रम गरिएको थियो । परियोजनाले जलवायू अनुकुलनको प्रविधिबारे कृषि सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सुर्खेतमा संवाद कार्यक्रमको सहजिकरण पत्रकार सुशिल खड्का र नन्दराम जैशी गरिरहेका छन् । कार्यक्रममा कृषि क्षेत्रमा रहेका विद्यमान समस्या र समाधानको विकल्पको खोजिका लागि कृषक र सरोकारवालाबिच संबाद गरिन्छ ।

छिन्चुको संवाद कार्यक्रममा कृषि उत्पादनदेखि बजारीकरणसम्मको अवस्था, जलवायू परिवर्तनले कृषिमा निम्त्याएको समस्या र समाधानको विकल्पबारे छलफल भएको छ । कार्यक्रममा विभिन्न कृषक समूह, कृषि उद्योग, कृषि संकलन केन्द्र तथा कृषि व्यापारीदेखि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश कृषकहरुले आफ्ना उत्पादनलाई बेच्न सडक बाधक रहेको भन्दै समयमै मल, वीउ र कृषि प्रविधिबारे ज्ञान पनि नपाएको गुनासो गरेका थिए । यस्तै कृषि तथा मासुजन्य वस्तुको उचित मुल्य निर्धारण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै कृषक नन्दराम योगीले जलवायू परिवर्तनका कारण पछिल्लो समय कृषि, तरकारी तथा फलफुलमा नयाँ नयाँ रोग किराको प्रकोप बढेको भन्दै पालिकाले रोग किरा व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे ।

कार्यक्रममा सहभागीहरुले पालिकाले दिने कृषि अनुदानका कार्यक्रममा राजनीति हुने गरेको, कृषि प्राविधिकहरु गाउँ नपुग्ने, कोल्ड स्टोर संचालन नहुदाँ तरकारी स्टोरमा समस्या र मनलाग्दी बिषी प्रयोगले स्वास्थ्यमा असर, हर्रेको बिषादी प्रयोगशाला नबन्दा अर्गानिक उत्पादनमा चुनौती लगाएतका समस्या राखेका थिए । उक्त सबै समस्या समाधानका लागि पालिका लागि पर्ने नगरउपप्रमुख धनसरा बोहोराले बताइन् ।