सुर्खेतको बाबियाचौर प्रहरीले पायो मुद्दा दर्ताको अधिकार

सुर्खेत – पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले मुद्दा दर्ता गरी अनुसन्धान गर्ने अधिकार प्राप्त गरेको छ ।

कार्यालयले मुद्दा दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार प्राप्त गरेपछि सुर्खेत पश्चिमका नागरिकलाई मुद्दा दर्ताका लागि वीरेन्द्रनगर धाउनुपर्ने वाध्ययताको अन्त्य भएको छ ।

सुर्खेत क्षेत्र नम्बर २ का संघीय सांसद हृदयराम थानीको लामो प्रयासपछि इलाका प्रहरी कार्यालय बाबियाचौरले मुद्दा दर्ताको अधिकार प्राप्त गरको हो । सांसद थानीले १६ चैत २०७९ मा गृह मन्त्रालयमा भौगोलिकस्थितीका कारण सदरमुकाम वीरेन्द्रनगर गई पश्चिम क्षेत्रका जनतालाई मुद्दा दर्ता गर्न निकै असुविधा रहेकाले तत्काल मुद्दा दर्ताको अधिकारको व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी अपराध अनुसन्धान बिभाग अन्वेषण तथा योजना शाखाको ४ असोज २०८०, चलानी नम्बर १६०१ को पत्रानुसार ईलाका प्रहरी कार्यालय बाबियाचौरलाई मुद्दा दर्ता गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाउने अधिकार प्राप्त भएको हो ।

‘कार्यालयमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन आवश्यक कार्यालय भवन, व्यारेक भवन, महिला तथा पुरुष हिरासत कक्ष, सवारी साधन लगायतका पूर्वाधारहरु पर्याप्त भएको र उजुरीको दर्ता संख्यामा पनि उल्लेख्य रहेको भन्ने व्यहोरा अवगत भएको हुँदा सर्वसाधारणलाई सहजरुपमा सेवा उपलब्ध गराउन तथा प्रभावकारी ढङ्गले अपराध नियन्त्रण तथा अनुसन्धान गर्न अनुमती प्रदान गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाद्वारा जारी पत्रमा भनिएको छ ।