सुर्खेतका व्यवसायी भन्छन्, ‘मासु र कृषिजन्य वस्तुमा परनिर्भर छौं’

सुर्खेत – कर्णालीवासी मासु र कृषिजन्य वस्तुका परनिर्भर रहन बाध्य भएकोे सुर्खेतका व्यवसायीहरुले बताएका छन् । कर्णालीमा मासु र कृषिजन्य वस्तुको बजार उच्च रहेपनि बजार माग भन्दा उत्पादन न्यून रहेकोले परनिर्भर हुनुपरेको हो ।

शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायको दिगोपनाको लागि मुल्य श्रृंखलाका पात्रसँग अन्तरक्रिया कार्यक्रममा सहभागी सुर्खेतका व्यवसायीले यस्तो बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा ऐग्रोभेट समूह, ड्रागन फल, च्याउ तथा तरकारी उत्पादन, बीमा, मासु व्यवसायी र सेवा प्रदायक समूह बनाएर समूहगत छुट्टाछुट्टै छलफल गर्नुका साथै प्रस्तुतिकरण गरिएको थियो । छलफलपछि व्यवसायीहरुले मासु र कृषिजन्य वस्तु बजार माग अनुसार उत्पादन नभएको दावी गरेका हुन् ।

कर्णालीमा माग अनुसार कृषि तथा फलफुलका कुनै पनि वस्तु उत्पादन नहुदाँ देशका अन्य जिल्ला तथा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको ड्रागन व्यवसायी हिरा मगरले बताए । पछिल्लो समय ड्रागन व्यवसाय फस्टाउँदै गएको भन्दै सरकरी लगानीको खाँचो रहेको उनले औंल्याए ।

मासु व्यवसायी धर्मराज वि.क ले कर्णालीमा खसी, रागाँ, बंगुर र कुखुराको मासु तथा माछाको बजार उच्च रहेको जानकारी दिदै उत्पादन नहुदाँ आयात गर्न बाध्य भएको बताए । हाल बर्दिया, बाँके, दाङ लगाएतका जिल्ला र भारतबाट मासुका लागि खसी, रागाँ, बंगुर र कुखुराको मासु तथा माछा आयात भइरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संस्था लेकवेसीका अध्यक्ष याम प्रसाद आचार्यले सरकारले कृषि उत्पादनका लागि कृषकमाथि लगानी गर्नुका साथै बजार व्यवस्थापनको जिम्मा लिनपर्ने तर्क गरे । इन इलम परियोजना हेल्भेटास नेपालका कार्यक्रम संयोजक टेक बहादुर सिंहले व्यवसायीहरुलाई नयाँ ज्ञान, सिप र प्रविधिका आधारमा काम गर्न आग्रह गर्दै आवश्यक परेको खण्डमा परियोजना सहयोग गर्न तयार रहेको बताए ।

अन्तरक्रिया कार्यक्रम इन इलम परियोजना हेल्भेटास नेपालको सहयोग र साना किसान कृषि सहकारी संस्था लेकवेसी ९ साटाखानी सुर्खेतको आयोजनामा सम्पन्न भएको हो ।