नागरिक उड्डयनको हचुवा निर्णय, जहाजको पर्खाइमै मर्छन विरामी

फाइल तस्विर

सुर्खेत – जहाज कुर्दाकुर्दै हुम्लाका एक ६ महिने शिशुको ज्यान गएको छ । उपचारका लागि साउन १४ गते जिल्ला अस्पताल हुम्ला पुर्याइएका ६ महिने शिशु इब्रान सुनारको हवाईजहाजको पर्खाइमा अस्पतालमै मृत्यु भएको हो ।

उपचार सम्भव नभएपछि साउन १७ गते नै मृतक शिशुलाई जिल्लाबाहिर रिफर गरिएको थियो । तर, लामो समयसम्म हवाईजहाज नचलेपछि शुक्रबार शिशुको अस्पतालमै मृत्यु भयो । जिल्लाको सिमकोट गाउँपालिका–६, माथिल्लो गाउँका सुरज सुनारका ६ महिने छोरा इब्रान सुनार निमोनियाका कारण अस्पताल भर्ना हुनुभएको थियो । मृतक शिशुलाई निमोनिया, झाडापखाला हुँदा इम्फेक्सन नियन्त्रणमा नआएपछि चिकित्सकहरूले थप उपचारका लागि जिल्लाबाहिर लैजान परिवारलाई सल्लाह दिएका थिए ।

यस्तै, जेठ ७ गते बाजुराको हिमाली गाउँपालिका–७ का देवीदत्त जोशी, जगन्नाथ गाउँपालिका–१ का लालबहादुर रोकाया र बुढीनन्दा गाउँपालिकाका निवर्तमान वडा अध्यक्ष सतवीर बोहरासहित तीन जनाले समेत जहाज कुर्दाकुर्दै ज्यान गुमाएका थिए । यी घटना गत वैशाख यताका हुन् । माथिल्लो कर्णालीका हुम्ला, डोल्पा, मुगु र सुदूरपञ्चिम प्रदेशको बाजुरा जिल्लामा यस्ता घटना बढी हुने गरेका छन् ।

साउन १० गते मुगुको खत्याड गाउँपालिका–१ रातापानीबाट उपचारका लागि अस्पताल लैजान बाजुराको कोल्टी विमानस्थल ल्याइएका बिर्खलाल कार्कीको पनि दुई दिनदेखि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो । बिरामी हुँदा अस्पताल जानसम्म निकै ठूलो संघर्ष गर्नुपर्ने दुर्गमका बिरामी समयमै उपचार नपाएकै कारण अकालमा ज्यान गुमाउन बाध्य छन् ।

अकालमै ज्यान गुमाउनुपर्ने अवस्था

हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि विशेष गरी दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक/चार्टर उडान गर्न नपाइने नियम लागू गरिदिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाका स्थानीयहरू प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् ।

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाको यातायातको एक मात्र भरपर्दा र छिटोछरितो हवाई सेवा बन्द हुँदा नागरिकहरूले सास्ती पाएका हुन् । प्राधिकरणको निर्णयले बिरामी भएर उपचारका लागि सुगम जिल्लाका अस्पताल आउन नसक्दा ज्यानै गुमाउनुपर्ने अवस्था आइलागेको छ ।

कर्णालीका १० जिल्लामा आठवटा विमानस्थलहरू रहेका छन् । जसमा डोल्पामा १८ दिन, मुगुमा ६ दिन, हुम्ला तथा बाजुरा लगायतका जिल्लाहरूमा हप्तौँदेखि उडान बन्द छन्  । बर्खाको समयमा मुगु विमानस्थलमा १० बजेसम्म कुहिरो लाग्छ । त्यसपछि दिनभरि मुगुको मौसम सफा रहन्छ ।

हुम्ला विमानस्थलको अप्रेसन आवर ९जहाज र हेलिकोप्टर उडाउन मिल्ने समय बिहान साढे ६ बजेदेखि साढे १२ बजेसम्म मात्रै हो । अहिले बर्खाको समय भएकाले विमानस्थल बिहान १० नबजी खुल्दैन । यही समस्याका कारण पछिल्लो समय हुम्ला विमानस्थलमा उडान अत्यन्तै न्यून भइरहेको छ ।

सिमकोट नागरिक उड्डयन कार्यालयका प्रमुख महेन्द्र सिंहका अनुसार १४ गतेयता आठवटा जहाज मात्र अवतरण भएका छन् । उहाँका अनुसार हुम्लामा मौसम खुले बाटो बिग्रन्छ, बाटो खुले मौसम बिग्रने समस्याले सकस पारेको छ । अप्रेसन आवरभित्रै वायु सेवा कम्पनीले उडान गर्नुपर्ने बाध्यता रहेकाले हुम्लामा अहिले न्यून उडान भइरहेको छ । प्राधिकरणले हवाइ जहाजसँगै हेलिकोप्टरलाई पनि सोही नियम लगाएको छ । उनीहरू पनि साढे १२ बजेपछि उडान भर्न पाउँदैनन् ।

प्राधिकरणको अप्रेसन आवर मुगु विमानस्थलका लागि बिहान साढे ६ बजेदेखि साढे १२ बजेसम्म मात्रै हुन्छ । मुगुको ताल्चा विमानस्थल प्रमुख रोमन भट्टराईले प्राधिकरणको अप्रेसन आवर मुगुका लागि अव्यावहारिक भएको बताउनुभयो । सम्बन्धित विमानस्थलको अवस्था अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेशको पहाडी तथा हिमाली जिल्लाका लागि भरपर्दो एकमात्र हवाई सेवा मौसम सफा भएको अवस्थामा पनि उडान भर्न नपाइने भएपछि कर्णाली सरकारसमेत नागरिक उड्डयन प्राधिकरणसँग चिडिएको छ । प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको निर्णय व्यावहारिक नभएकाले प्राधिकरणसँग निर्णय सच्चाउन माग गरिरहेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सम्पर्क गरी निर्णय सच्याउन बारम्बार आग्रह गरेको भए पनि कुनै सुनवाइ नभएपछि कर्णालीका पर्यटन मन्त्री कृष्णकुमार बिसी प्राधिकरणमै पुग्नुभएको थियो । तर, अधिकारीले भेट्नै नमानेको मन्त्री बिसीले बताउनुभयो ।