कर्णालीमा बाढीपहिरोको उच्च जोखिम, तीन वर्षमा २१८ जनाको मृत्यु

सुर्खेत – मनसुन सुरु भएसँगै कर्णाली प्रदेशमा बाढीपहिरोको पनि उच्च जोखिम बढेको छ । लामो समयको खडेरीपछि नेपाल भित्रिएको मनसुनका कारण कर्णालीमा यस बर्ष पनि बाढीपहिरोको जोखिम बढेको हो ।

हरेक बर्ष बाढिपहिरोकै कारण कर्णाली प्रदेशका सयौं नागरिकले अकालमा ज्यान गुमाएका छन् । गत तीन आर्थिक बर्षको तथ्यांकलाई मात्रै हेर्ने हो भने कर्णालीका दुई सय १८ जनाले बाढीपहिरोबाट ज्यान गुमाएका छन् ।

तथ्यांक अनुसार कर्णाली प्रदेशका रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुनजन्य प्रकोपबाट देशभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने आँकलन छ । जसमा कर्णाली प्रदेशमा झण्डै ३५ हजार तीन सय ३३ जना नागरिक प्रभावित हुने अनुमान छ ।

कर्णालीमा सबैभन्दा बढी मानवीय क्षति बाढी पहिरोका कारण हुने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म बाढी र पहिरोमा परी ३८ जनाले ज्यान गुमाएका छन् । यस्तै ८६ वटा आगलागीका घटना हुँदा सात जनाले ज्यान गुमाएका छन्, भने २० जना घाइते भएका छन् । हालसम्म ३३ वटा चट्याङका घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्, भने चार जना घाइते भएका छन् ।

यस्तो छ, तीन बर्षमा क्षतीको अवस्था

कर्णाली प्रदेशमा विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्दा विपदका घटनाबाट दुई सय १८ जनाले ज्यान गुमाएका छन् । यस्ता घटनामा परी आर्थिक वर्ष ०७७/७८ मा ८५ जनाको मृत्यु र ११ जना बेपत्ता भए । उक्त वर्ष चार सय १६ विपद्का घटना भउका थिए । जसमा एक हजार एक सय ३४ घरमा क्षति पुगेको थियो । उक्त वर्ष ३५ करोड ५६ लाख ९९ हजार पाँच सय ६४ रुपैयाँ धनजनको क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष ०७८/०७९ मा प्रदेशभर विपद्जन्य घटनामा ६८ जनाको मृत्यु हुँदा १६ जना बेपत्ता र ७३ जना घाइते भएका थिए । यस वर्ष एक हजार दुई सय १५ वटा विपद्का घटना भएका छन् । जसमा एक हजार एक सय ८६ घरमा क्षति भएकोे छ । चार सय ४२ घरपरिवार विस्थापित भएका छन् । यस वर्ष विपद्का कारण ५१ करोड ४१ लाख ५२ हजार दुई सय ५७ धनजनको क्षति भएको छ ।

यस्तै कर्णालीमा चालु आर्थिक वर्ष २०७९÷०८० को जेष्ठ महिनासम्म विपद् घटनामा परी ६५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा कर्णालीमा तीन सय ४८ वटा बाढी पहिरोका घटना घटेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीमा दुई हजार एक सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन्, भने दुई हजार नौं सय ४७ जना विस्थापित भएका छन् । यस्तै एक सय १४ जना घाइते भएका छन् भने ६ हजार दुई सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुग्दा ६४ करोड ४६ लाख ३१ हजार सात सय ८४ रुपैयाँ बराबर धनजनको क्षति भएको छ ।

चालु आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै विपद्का घटना हुम्ला जिल्लामा भएका छन् । हुम्लामा नौं सय ४० वटा मनसुनजन्य घटनामा परी आठ जनाको मृत्यु हुँदा ६ जना घाइते तथा नौ सय चार घरमा क्षति पुगेको छ । दुई जना बेपत्ता रहेका छन् भने तीन हजार दुई सय ८६ परिवार विस्थापित भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै डोल्पामा सबै भन्दा कम विपद्का घटना घटेका छन् । चालु आर्थिक वर्षको अन्त्य सम्ममा डोल्पामा १५ वटा विपद्का घटना घट्दा तीन जनाको मृत्यु भएको छ, भने ६ जना घाइते हुँदा ३२ परिवार विस्थापित भएको प्रदेश प्रहरीले जनाएको छ । सुर्खेतमा चार सय ३४ वटा विपदजन्य घटनामा परी १८ जना घाइते भएका छन्, भने तीन सय ७९ घरमा क्षति पुग्दा पाँच सय ६६ परिवार विस्थापित भएका छन् ।

विपद् व्यवस्थापनमा जोड

कर्णाली प्रदेशमा पछिल्ला केही वर्षयता मनसुनजन्य विपद्का घटना बढ्न थालेपछि विपद् पूर्व र विपद्पछिको खोज उद्दार, राहत र पुनरस्थापना लागि प्रदेश सरकार चनाखो हुन थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगते विपद् व्यवस्थापन गतिविधि भइरहेका छन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद् पुर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० लाई अध्यावधिक गरी लागुगर्ने तयारी गरेको छ । विपद् पूर्व प्रभावित क्षेत्रमा विभिन्न खालका जनचेता जगाउने तथा विपद्पछि खोज, उद्दार, राहत र पुनरस्थापनाका लागि प्रदेश सरकारको भुमिका रहन्छ ।

यस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्दार टोली र आवश्यक परेको खण्डमा हेलिकप्टरबाट उद्दार गर्ने तयारी अपनाइएको छ । कर्णालीमा विपद् घटनामा परेका नागरिकलाई राहत वितरणमा भौगोलिक विकटता, यातायातको असुविधा तथा एकद्वार प्रणाली लागु नहुँदा समस्या हुनेगरेको छ ।