एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगले संकट आइपर्ने खतरा

सुर्खेत – एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भिर संकट आइपर्ने खतरा बढेको छ । एन्टीबायोटिक औषधिको जथाभावी प्रयोग तथा अत्याधिक सेवनका कारणले मान्छेमा रोग प्रतिरोधी क्षमतामा कमी आउन थालेको हो ।

नेपालमा चिकित्सकको सुझाव बिना एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएका कारणले मान्छेको रोग प्रतिरोधी क्षमतामा कमी आएको विज्ञहरुले औल्याएका छन् । कर्णाली प्रदेशमा यो समस्या झन् बढ्दो क्रममा रहेको पाइन्छ ।

विज्ञहरुले एन्टीबायोटिक औषधिको जथाभावी सेवनका कारणले अहिले अनेकन स्वास्थ्य समस्या उत्पन्न भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआईडीको सहयोगमा कर्णालीका प्रदेशका संवाददातासँग एन्टीबायोटिक औषधिको प्रयोगबाट हुने प्रभावका विषयमा आयोजना गरिएको कार्यक्रममा सहभागी विज्ञहरुले यस्तो बताएका हुन् ।

यस्तै पशुपन्छीको स्याहारसुसारमा प्रयोग हुने एन्टिमाइक्रोबिएल औषधिले नै जनावरहरूमा औषधीको असर नहुने ब्याक्टेरियाको विकास हुन्छ । जसले गर्दा प्रत्यक्ष सम्पर्क वा संक्रमित पशु उत्पादनहरु खाँदा यो मानिषलाई समेत सर्ने विज्ञहरु बताउँछन् । प्रतिरोधी ब्याक्टेरियाबाट हुने संक्रमणको उपचार गर्न निकै गाह्रो र महँगो हुदाँ यसले जनस्वास्थ्यमा गम्भीर असरहरू निम्त्याउँछ ।

कर्णालीमा पशुपंक्षिमा एएमआर अनुसन्धान नभएको र एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगले पशुपंक्षीबाट मानिसमा समेत एएमआर सर्ने खतरा छ । यसलाई यहाँका सरोकारवालाले गम्भिर रुपमा लिई सजकता अपनाउन जरुरी छ । जसले गर्दा पशुपंक्षिजन्य उत्पादनबाट मानिसमा सजिलै एएमआर सर्न नसकोस् । किनकी एएमआर संक्रमणले कर्णालीजस्तो पिछडिएको क्षेत्रमा गम्भिर संकट आईपरे रोगबाट सजिलै उन्मुक्ति पाउन संभव देखिदैन ।

वीरेन्द्रनगरमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएका कारण यसमा चिकित्सक, औषधि व्यवसायी, सरोकारवाला पक्ष र संचारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताए । ‘अहिलेको अवस्थामा बढी औषधिको प्रयोगले समस्या निम्त्याएको हुन सक्छ,’ उनले भने, ‘यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीसँगै समाजले सहज हुनैपर्छ ।’

एन्टीबायोटिक औषधिको प्रयोगले मान्छेमा रोग प्रतिरोधी क्षमतामा कमी आउन थालेको र यसले मृत्युदर पनि बढाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले बताए । ‘एन्टीबायोटिक औषधिको जथाभावी सेवन गर्ने प्रवृत्तिका कारणले औषधिले पनि काम गर्न बन्द गर्ने गरेको छ,’ उनले भने, ‘एन्टीबायोटिक औषधिलाई जथाभावी सेवन गरेका कारणले नेपालसहित विश्वमा नै मृत्युदरमा वृद्धि भएको छ ।’

पहिला विश्वमा एन्टीबायोटिक औषधि बनाउनमा वैज्ञानिकहरु लागेको र अहिले त्यो औषधिका कारणले विश्वमा स्वास्थ्य समस्या रुपमा रहेको युएसएआइडी एमट्याप्स कार्यक्रम नेपालका कन्ट्रि प्रोजेक्ट निर्देशक डा बिर्ना ट्र्याप बताइन् । ‘अहिले विश्वमा एन्टीबायोटिक औषधि प्रयोगले भयावह रुप लिएको छ,’ उनले भनिन्, ‘यो औषधि प्रयोगका विषयमा अबका दिनमा संसारले जान्न जरुरी छ कि एन्टीबायोटिक औषधि जथाभावी प्रयोग गर्न हुँदैन् ।’

चिकित्सकको सल्लाह बिना एन्टीबायोटिक औषधिका सेवन गर्दा विश्वमा वर्षेनी रुपमा १२ लाख २७ हजारको मृत्यु भइरहेको र विश्वका लागि साझा स्वास्थ्य समस्याको रुपमा एन्टीबायोटिक औषधिको प्रयोगका कारणले अनेकन स्वास्थ्य समस्या उत्पन्न हुने गरेको यूएसएआईडीका विज्ञ डा. सन्तोष दुलालले बताए । ‘सामान्य रुघाखोकीमा एन्टीबायोटिक औषधि खाने चलन छ,’ उनले भने, ‘एन्टीबायोटिक औषधि सेवन गर्नै परेको खण्डमा चिकित्सकको परामर्शमा औषधिको डोज पूरा लिन आवश्यक रहन्छ ।’

शिक्षा तथा जनचेतनाको अभावका कारणले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टीबायोटिक औषधि सेवन गर्ने चलन रहेको र नेपालको सन्दर्भमा महिलाहरू बढी मात्रामा पीडित हुनु परेको यूएसएआईडीका चिकित्सक डा. विवेका श्रेष्ठले बताइन् ।

‘पुरुषहरू पनि यसको असरबाट पीडित भएपनि महिला तुलनात्मक रुपमा बढी रहेका छन्,’ उनले भनिन्, ‘यसको बिक्री वितरण तथा सेवनमा रोक लगाउन आवश्यक छ ।’ समाजको ऐनाका रुपमा रहेका संचारकर्मीहरुले औषधि सेवनका विषय र अहिलेको एन्टीबायोटिक औषधि प्रयोगका विषयमा जानकारी राख्न जरुरी रहेको युएसएआईडीका अर्जुन अधिकारीले बताए ।