पाठेघरको क्यान्सर रोक्ने एचपीभी खोप ल्याउँदै सरकार

काठमाडौँ – सरकारले चालू आर्थिक वर्ष २०७९/०८० र आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पाठेघरको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गरिने उल्लेख गरेको छ।

चालू आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा पाठेघरको क्यान्सरविरुद्ध खोप ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) २० हजार भाइल ल्याउने भएको छ।

‘महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः विस्तार गरिनेछ,’ आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा भनिएको छ, ‘पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने।’

सरकारले चीनबाट खरिद गरेर असार पहिलो साता २० हजार भाइल एचपीभी खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा। सुरेन्द्र चौरासियाले जानकारी दिए।

‘सरकारले खरिद गरेको २० हजार भाइल एचपीभी खोप असारको पहिलो सातासम्म नेपाल आइपुग्छ’ उनले भने।

डा. चौरासियाका अनुसार नेपाल सरकारले एचपीभी खोपका लागि पहिला पनि बजेट विनियोजन गरेको थियो। तर, खोप ल्याएन। खोप खरिद गरेर सरकारले पहिलोपटक ल्याउन लागेको हो। केही गैरसरकारी संस्थाले भने यसअघि नै यदाकदा खोप ल्याएर लगाएको सुनिएको थियो।

खोप निकै कम भएकाले कुन जिल्लामा लगाउने भनेर परिवार कल्याण महाशाखाले फाइल उठाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको डा. चौरासियाले जानकारी दिए।

‘सरकारले खोप आफैँ खरिद गरेर ल्याउँदै छ, यो राम्रो सुरुवात हो’, डा. चौरासियाले भने, ‘विश्व बजारमा यो खोप धेरै पाइँदैन। तीनवटा कम्पनीले मात्र उत्पादन गर्छन्। बिस्तारै नेपालले यो खोप अनुदानमा पनि पाउँछ कि भन्ने आशा छ।’ एचपीभी खोप निकै महँगो भएकाले सरकारले यस कार्यक्रमलाई निरन्तरता दिन सक्ला त भन्ने प्रश्न भने छ।

आठदेखि नौ हजार बालिकाले पाउनेछन् खोप

हाल नेपाल ल्याउन लागिएको एचपीभी खोप दुई मात्रा लगाउनुपर्ने परिवार कल्याण महाशाखा निर्देशक डा. विवेक कुमार लालले जानकारी दिए।

‘एचपीभी खोप दुई प्रकारको हुन्छ। एउटा एक मात्रा लगाए पनि हुन्छ, अर्को ६–६ महिनाको फरकमा लगाउनुपर्छ’, डा. लालले भने, ‘हामीले ल्याउन लागेको चाइनामा बनेको सकुलेन खोप हो, जुन दुई डोज लगाउनुपर्छ।’

डा. लालका अनुसार २० हजार डोज ल्याउन लागिएको छ। ‘दुई चरण गरेर लगाउँदा १० हजार हुने हो भने एकरदुई हजार खोप खेर पनि जान्छ होला, ८/९ हजार बालिकाले लगाउन सकिने अनुमान छ,’ डा. लालले भने।

एचपीभी खोप कार्यक्रम पहिलोपटक सञ्चालन गरिएकाले केही चुनौती रहेको डा. लाल बताउँछन्।

‘हामीले विद्यालय स्तरमा अभियान सञ्चालन गर्ने हो। पहिलोपटक खोप लगाउन लागिएकाले हामीले अभिभावक तथा बालबालिकालाई खोप सुरक्षित छ भनी पूर्ण रुपमा विश्वस्त बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले स्थानीय तहसँग राम्रोसँग समन्वय गर्नुपर्ने हुन्छ।’

नेपालमा पाठेघरको क्यान्सर ठूलो जनस्वास्थ्यको समस्या हो भन्नेमा दुईमत नरहेको डा। लालले बताए।

नेपालले अन्तर्राष्ट्रिय रूपमा पनि विसं २०३० सम्म दक्षिण पूर्वी एसियाको एक रणनीतिअनुसार पाठेघर मुखको क्यान्सरलाई जनस्वास्थ्यको समस्याका रुपमा रहन नदिने भन्ने नीति लिएको छ।

त्यसका लागि सरकारले ३ वटा कुरामा काम गर्नुपर्ने छ। त्यसमध्ये एउटा ९ देखि १४ वर्षबीचका ९० प्रतिशत बालिकालाई पाठेघर क्यान्सरविरुद्धको खोप दिने हो। अर्को भनेको पाठेघर मुखको स्क्रिनिङ पनि रहेको डा।लाल बताउँछन्।

बजेट अभावकै कारण जम्मा २० हजार भाइल खोप ल्याउन लागिएको समेत उनले बताए।सरकारले आगामी आर्थिक वर्षमा पनि एचपीभी खोप प्रथामिकतामा परे पनि यसलाई निरन्तता दिने वा के गर्ने भनेर बजेटमा निर्भर हुने डा. लालले बताए।

‘स्वास्थ्यको बजेट घट्दै गइरहेको छ’ डा। लालले भने ‘अहिले सञ्चालन भइरहेको नियमित खोपलाई त यही बजेटमा कसरी हेन्डिल गर्ने भएको छ। अनुदानमा खोप आएन भने एचपीभी खोपलाई निरन्तरता दिन गाह्रो होला।’

एचपीभी नयाँ खोप भएकाले मानिसलाई विश्वस्त बनाउनु पनि चुनौतीपूर्ण रहेको उनले बताए। त्यसैले यस कुरालाई विशेष ध्यान दिनुपर्ने डा. लालले जोड दिए। खोप जति महँगो छ, त्यति नै बढी व्यवस्थापनमा खर्च गर्नुपर्ने देखिएको उनको भनाइ छ।

डा. लालले थपे, ‘यो खोप विश्व स्वास्थ्य संगठले नै मान्यता दिसकेकाले यसको प्रभावकारिता धेरै छ। अन्य केही देशहरूले बालिकालाई मात्रै होइन, बालकलाई पनि लगाउन सुरु गरेका छन्। तर हामीले बालिकालाई मात्रै लगाउन पाए पनि खुसीको कुरा हो।’

‘नियमित खोपमै समावेश हुनुपर्छ’

हृयुमन प्यापिलोमा भाइरसले पाठेघरमा क्यान्सर मात्र नभएर धेरै रोग निम्त्याउने क्यान्सर रोग विशेषज्ञ डा. रीता महासेठ बताउँछिन्।

पाठेघर क्यान्सर लाग्नुमा ९५ प्रतिशत भूमिका एचपीभी भाइरसको हुने भएकाले रोग लाग्नै नदिने प्रमुख उपाय भनेको खोप नै भएको उनले बताइन्।

‘एचपीभी भाइरसवाहक भनेको पुरुष नै हो,’ डा. महासेठले भनिन्, ‘अहिले मानिसहरु धेरै नै एडभान्स भएकाले सानै उमेरमा यौन सम्पर्कमा आउने भएकाले सम्पर्कमा आउनुभन्दा पहिला नै यो खोप लगायो भने भाइरस कन्ट्रयाकमा आयो भने त्यसविरुद्धको एन्टिबडी बनिसकेकाले त्यसलाई मारिदिन्छ।’

पाठेघर क्यान्सरविरुद्ध यो खोपले एकदमै ठूलो भूमिका खेल्ने भएकाले सरकाले नियमित खोज जसरी नै यस खोपलाई निरन्तरता दिनु पर्ने कुरामा उनले जोड दिइन्।

सरकारले यो खोप हुनेखाने भन्दा पनि विपन्न बालिकाहरुलाई दिनुपर्ने उनको भनाइ छ। उनले भनिन्, ‘सम्पन्न परिवारको बालिकाले त खोप किनेर पनि लगाउन सक्छन्। त्यसैले सरकारले खोप दुर्गम र विपन्नलाई प्रथामिकतामा राखेर लगाउनुपर्छ।’ पाठेघर क्यान्सरबाट बच्न खोप मात्र नभएर स्क्रिनिङ पनि गर्नुपर्ने पनि उनले बताइन्। – nepalkhabar