संघीय ससंदका दुवै बैठक आज, विपक्षी भएन टसमस

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा दिएको विवादास्पद अभिव्यक्ति र राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै आइतबार स्थगित भएको संसदका दुवै सदनको बैठक आज बस्दै छन्।

आइतबार संसद सुरु भएलगत्तै विपक्षी दलहरुले संसद बैठक अबरोध गरेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि र राष्ट्रियसभाको बैठक चल्न दिएनन्।

बैठक सुरु भए लगत्तै एमाले, रास्वपा र राप्रपाबाट प्रतिनिधित्व गर्ने सांसदले उभिएर बिरोध सुरु गरे। सरकारले संसद् छलेर संबैधानिकरुपमा अस्तित्वमै नरहेको नागरिकता विधयेक राष्ट्रपतिबाट प्रमाणीकरण गराएको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशको भू–भाग साटफेर गर्ने सकिने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरु संसदमा एकै ठाउँमा उभिएका हुन्। राष्ट्रपतिको कदम सच्चिनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनीहरुको माग छ। माफी नमागेसम्म सदन चल्न नदिने उनीहरुको अडान छ।

मागबारे संसदको ध्यानाकर्षण भएको र सरकारले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै सभामुख देवराज घिमिरेले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर, विपक्षी सांसदले झनै नाराबाजी थालेपछि सभामुख घिमिरेले बैठक आइतबार १ घण्टाका लागि स्थगित गरे। बैठक पुनः सञ्चालनका लागि भएको छलफलमा विपक्षी अडान दोहोर्‍याएका कारण संसद सचिवालयले सूचना टाँसेर बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

यस्तै, एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ। बैठक सुरु भए लगत्तै एमालेबाट प्रतिनिधित्व गर्ने सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको र प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाएका थिए। श्रेष्ठको अभिव्यक्तिपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरे पनि अबरोध कायमै राखेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

दुबै सदनमा आज बजेट छलफलको कार्यसूची छ।