सुर्खेत – कर्णाली प्रदेशमा १४ हजार बढि महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन । एक तथ्यांक अनुसार तीन आर्थिक वर्षमा १४ हजार बढिले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।
स्वास्थ्य सेवा निर्देशनालयल सुर्खेतका अनुसार तीन आर्थिक बर्षमा १४ हजार नौ सय ८३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कर्णाली प्रदेशका दश वटै जिल्लामध्य सुर्खेतमा सबैभन्दा धेरैले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सुर्खेतमा यी तीन आर्थिक वर्षमा सात हजार सात सय नौ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।
तथ्यांक अनुसार कर्णालीमा आर्थिक वर्ष २०७८/०८९ मा नेपाल सरकारले सुचिकृत गरेका स्वास्थ्यसंस्था तथा तालिम प्राप्त स्वाथ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा लिनेको संख्या चार हजार आठ सय ६० रहेकोे छ । आर्थिक बर्ष २०७७/०७८ मा चार हजार आठ सय ८८ जना र आ.ब २०७६/०७७ मा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या पाँच हजार दुई सय ३७ रहेको छ ।
निजीमा गर्भपतन गर्ने बढे
कर्णालीमा नेपाल सरकारले सुचिकृत गरेका स्वास्थ्यसंस्था तथा तालिम प्राप्त स्वाथ्यकर्मीबाट भन्दा निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । निजीमा सजिलै औषधि किनबेच हुने र गर्भपतनको कुरा गोप्य रहने भएकाले पनि महिलाहरुको रोजाइमा निजी अस्पताल पर्न थालेका हुन् ।
‘सरकारी स्वास्थ्य संस्थामा प्रक्रिया पु¥र्याएर गर्भपतन गर्दा धेरैले थाहा पाउने डर हुन्छ । महिलाहरु यस्ता कुरा गोप्य राख्न चाहान्छन्,’ वीरेन्द्रनगरस्थित एक मेडिकल सञ्चालकले भने, ‘कतिपय निजी स्वास्थ्य संस्थाले सेवाग्राहीको चाहनाअनुसार घरमै पुगेर पनि गर्भपतन गराउने गरेका छन् ।’
उनका अनुसार कर्णाली प्रदेशका सबै जिल्लामा यो अवस्था उस्तै छ । जसकारण हरेक निजी स्वास्थ्य संस्थाले वर्षमा लाखौं मुल्य बराबरको गर्भपतन गराउने औषधि बिक्री गर्दै आएका छन् ।
गलत मुल्य मान्यता चिर्नुपर्छ : भट्टराई
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईले सुरक्षित गर्भपतनबारे समाजमा रहेको गलत धारण चिर्नुपर्ने बताईन । गर्भपतन गराउनु पाप हो, यसले स्तनको क्यान्सर बढाउछ, गर्भपतन सेवालाई खुल्ला छाड्नु हुदैन । एउटा गर्भपतन गराउनु भनेको धेरै बच्चा जन्माउनु जत्तिकै जटिल हुन्छ भन्ने जस्ता गलत धारणा रहेकाले यसलाइ परिवर्तनका गर्नुपर्ने उनको भनाई छ ।
गर्भपतन सम्बन्धि समाजमा रहेका गलत हल्ला र गलत मुल्य मान्यताले गर्दा पनि सुरक्षित गर्भपतन सेवा प्रभावकारी बनेको छैन । उनले भनिन्, ‘महिलाको प्रजनन अधिकार सुनिश्चित गर्न, यसबाट महिला, परिवार र रास्ट्रमा पर्ने नकारात्मक असरहरु कमगर्दै जानू पर्ने आवश्यक छ ।’ नेपालमा कुल मातृ मृत्यु मध्ये सात प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले नै हुने गरेको भन्दै नेपाल सरकारले सुचिकृत गरेका स्वास्थ्यसंस्था तथा तालिम प्राप्त स्वाथ्यकर्मीबाट मात्र लिन सेवा लिन उनको अनुरोध छ ।
वरिष्ठ नर्सिङ अधिकृत भट्टराईका अनुसार १२ हप्ता सम्मको गर्भ सरकारले सुचिकृत गरेका स्वास्थ्यचौकी वा अस्पतालहरुबाट निःशुल्क उपलब्ध छ । असुरक्षित रुपमा निजी अस्पतालको औषधि तथा घरकै जडिबुटिको सेवन गर्दा एकातिर ज्यानै जोखिममा हुन्छ भने अर्कोतिर मंहगोमा औषधि किनेर आर्थिक हानी हुन्छ ।
असुरक्षित गर्भपतन गराउने ५८ प्रतिशत
तथ्यांक अनुसार देशभर ५८ प्रतिशतले अझैँ असुरक्षित गर्भपतन गराउँछन् । वातावरण, स्वास्थ्य तथा जनसंख्या अनुसन्धान केन्द्र २०१४ को तथ्यांक अनुसार नेपालमा हरेक बर्ष करिव तीन लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् । तर तीमध्ये ५८ प्रतिशतले सरकारले मान्यता दिएको स्वास्थ्य संस्था भन्दा बाहिर गएर असुरक्षित गर्भपतन गर्ने गरेको पाइएको हो ।
४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा जानकारी रहेको नेपाल पारिवारिक स्वाथ्य सर्वेक्षण २०१६ को तथ्यांक छ । कानुनी मान्यताको ज्ञान नपढेका र आर्थिक अवस्था कमजोर भएका महिलाहरुमा ज्यादै कमी रहेको उल्लेख छ । त्यस्तै ४८ प्रतिशत महिलालाई मात्रै सुरक्षित गर्भपतन सेवा कहाँ उपलब्ध हुन्छ ? भन्नेबारेमा थाहाँ छ ।