काठमाडौं – प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् बनेको भए पनि बाँकी मन्त्रीहरु कहिले चयन हुन्छन् भन्ने विषय अहिले तीव्ररुपमा उठेको छ ।
सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयबीचको कुराकानीमा सरकारले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्नुपर्ने विषय उठेको माओवादी उच्च स्रोतले जनाएको छ । बिहीबार बसेको चार दलका शीर्ष नेताको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको थियो ।
चार नेताको कुराकानीमा पहिले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने, साझा कार्यक्रम बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकारलाई समर्थन गरेका सात राजनीतिक दलका एक एक जना नेता सहभागी हुने निर्णय गरेको छ ।
त्यो समितिले पाँच दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनका अनुसार यो पाँच दिन सरकार विस्तारको काम हुने छैन । तर त्यसपछि पुस २५ गते सरकारले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले पुस २५ गते संसद्को बैठक आह्वान गरिसकेकी छन् ।
“न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेका छौँ,” लामिछानेले बैठकपछि भने, “संयोजक केपी शर्मा ओली हुनुहुन्छ । एक राजनीतिक दलको एक एक जना तोक्ने निर्णय पनि भएको छ ।”
राप्रपाले आफ्ना केही माग रहेको हुँदा न्युनतम साझा कार्यक्रम समावेश भए सरकारमा जाने तयारी गरेको छ ।
त्यसका लागि सोही समितिमा छलफल हुनेछ । पुस २७ गते एकता दिवस मनाउनुपर्ने, मन्त्रिपरिषद्बाट भएका निर्णय पनि अख्तियारको दायरामा ल्याउनुपर्नेलगायतका माग राप्रपाको छ ।त्यस कारण सरकार विस्तारको काम पनि विश्वासको मत लिएपछि मात्रै गर्न लागिएको एक नेताको भनाई छ ।
त्यसो गर्दा गठबन्धनमा विवाद कम हुने र सरकारलाई विश्वासको मत लिन पनि सहज हुने निष्कर्ष सत्तारुढ दलका प्रमुख नेताहरुले निकालेका छन् ।
“मन्त्रिपरिषद् विस्तार सरकारले विश्वासको मत लिएपछि कि नलिइ भन्ने विषयमा त्यतिधेरै कुरा भएन,” लामिछानेले भने, “अघि वा पछि पनि हुन सक्छ । मन्त्रिपरिषद् विस्तारको कुरालाई विश्वासको मतसँग जोडेर हेरेका छैनौँ । सरकारमा पठाउँदा सकेसम्म विषय विज्ञ भए राम्रो हुने थियो । विज्ञलाई सकेसम्म लैजाऔँ भन्ने समझदारी गर्ने प्रयास गरेका छौँ । केही समय लाग्छ । विश्वासको मत लिने दिनलाई ध्यानमा राखेका छैनौँ पछि जान पनि सक्ला ।”
गठबन्धनमा प्याकेजमै सहमतिको प्रयास भएको उनको भनाई छ । राष्ट्रपतिदेखि प्रदेश सरकारसम्म प्याकेजमा भागबण्डा गर्ने तयारी गरिएको छ ।
“प्याकेजमा साझेदार हुन्छ । मन्त्रिपरिषद् विस्तारको कुरा पनि त्यसैसँग जोडिन्छ,” लामिछानेले भने, “विश्वासको मत अघि वा पछि प्याकेजमै सहमति हुनेछ । न्युनतम साझा कार्यक्रम तयार भएपछि जवाफ दिन सहज हुन्छ । संयन्त्रको बैठक भोलि नै बस्नेछ ।”
सात राजनीतिक दलबाट अब १७ जना मन्त्री चयन गर्नुपर्ने छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् हुने संवैधानिक व्यवस्थाअनुसार सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ ।
१७ जना थप मन्त्री बन्न सक्ने भए पनि एउटै पार्टीबाट त्योभन्दा बढी आकांक्षी देखिएका छन् । आकांक्षी बढी भएपछि सरकारमा जाने व्यक्तिको टुंगो लगाउन एउटा मापदण्ड बनाउने तयारी गरिएको छ ।
“विगतमा अवसर नपाएका, पटक पटक निर्वाचित भएकालाई सरकारमा पठाउने भन्ने हाम्रो तयारी रहेको छ । शीर्ष नेताको बैठक बसेर यस विषयमा टुंगो लगाइनेछ,” नेकपा एमालेका एकजना प्रभावशाली नेताले भने ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेमा पदम गिरि, विद्या भट्टराई, सूर्य थापा, ठाकुर गैरे, भीम आचार्य, एलपी सावाँ, रघुबीर महासेठ, गोकर्ण विष्ट, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुले आकांक्षा राखेका छन् ।
तर नेकपा एमालेले यसअघि चारजना सरकारमा पठाइसकेको हुँदा अब बाँकी चार जनाजतिमात्रै भाग पाउन सक्ने देखिएको छ ।
त्यस्तो अवस्थामा भूगोल र समावेशी पनि बनाउनुपर्ने हुँदा सबै आकांक्षीलाई समेट्न नसकिने ती नेताको दाबी छ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र उपप्रधानमन्त्री पनि पाइसकेकाले अब तीनजनालाई तत्कालै सरकारमा सहभागी गराउने तयारी गरेको छ ।
आकांक्षी बढी भए पनि रेखा शर्मा, सुदन किराँती र शक्ति बस्नेतलाई सरकारमा लैजाने तयारी भएको माओवादी अध्यक्ष प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ । माओवादीमा हितराज पाण्डे, अमनलाल मोदी, माधव सापकोटा, सूर्य दोङ, हरि चौधरी, महेन्द्र यादवलगायतका आकांक्षी रहेका छन् ।
यादव बाबुराम भट्टराई समूहका भएकाले उनलाई पनि मन्त्री बनाउन दबाब रहेको स्रोत बताउँछ ।गृह या अर्थमध्ये एक मन्त्रालयको दौडमा रहेका नेता वर्षमान पुन भने अहिले सरकारमा नजाने स्रोतले जानकारी दिएको छ ।
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भइसकेका कारण माओवादीले पुनलाई अहिले सरकारमा नलैजाने दाहाल निकट विश्वस्त स्रोत बताउँछ । तर माओवादीले उपराष्ट्रपतिमा ओनसरी घर्तीलाई अघि बढाउने तयारी गरेको पनि स्रोतको दाबी छ ।
सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि मनिष झा, शिशिर खनाल, डोलप्रसाद अर्याल, तोसिमा कार्की, चन्दा कार्की, सोविता गौतमलगायतका आकांक्षी रहे पनि मन्त्रालय हेरेर मात्रै व्यक्ति चयन गर्ने सो पार्टीको तयारी छ ।
“हामीले पाउने मन्त्रालय कुन हुन्छ, कसको विज्ञता सो मन्त्रालयसँग सम्बन्धित छ उसैलाई पठाउने तयारी गरेका छौँ,” एक नेताले बाह्रखरीसँग भने । रास्वपाका ती नेताका अनुसार उपसभामुखसहित अब कम्तिमा पनि दुई मन्त्रालय सो पार्टीले पाउनेछ ।
त्यसैगरी जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गरेको छ भने अहिलेसम्म सरकारमा कसैलाई पठाएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएकाले सो पार्टीका सांसद अशोक राई, राजकिशोर यादव, प्रदीय यादवलगायत सरकारमा जाने चर्चा छ । तर सो पार्टीले पाउने मन्त्रालय कति हो भन्ने शीर्ष नेताको बैठकले अझै टुंगो लगाएको छैन ।
स्वतन्त्र तीन सांसद पनि सरकारमा जाने दौडमा छन् । अमरेश कुमार सिंह, प्रभु साह, किरण साह सरकारमा जाने दौडमा रहेका छन् । – 12khari.com