काठमाडौं – नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरूमा आए अनुसार आ.व.. २०७९र८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात भएको बताएका छन्। यस विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरूलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग गरेका हुन्।
उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे। यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले स्पष्टिकरण दिनुपर्ने बताए।
अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा त्यसरी अर्थमन्त्रालयमा मानिसलाई प्रवेश गराउनु राष्ट्रको नाममा खाएको सपथको खिलाप भएको उनले जिकिर गरे।