काठमाडौं – तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए ।
सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली जाँदै गरेको ठाउँबाट लाङ्को खोलाको मुहान शुरु हुन्छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । हेलिकप्टरमा पोखरास्थित मध्यकमाण्डका जर्नेल नेतृत्वमा उद्धारकर्मी छन् ।
विमानको खोजीमा ४ वटा पैदल टिमलाई मानापाथी हिमालको पहिरोतर्फ डाईभट गरिएको सहायकरथी सिलवालले जानकारी दिए । उनले भने– ‘सकेसम्म चाँडो पुग्न भनेका छौं, लगातार वर्षा र कुहिरोका कारण खोजी कार्य असहज भएको छ ।’
फौज पुगेर नहेरेसम्म विमान भेटिएको पुष्टि नहुने सहायकरथी सिलवालले बताए । यसअघि विमान थासाङ गाउँपालिकास्थित लेतेमा हुनसक्ने आशंका गरिएको थियो । तर, लेतेमा विमान भेटिएन । बाक्लो हुस्सुका कारण सम्भावित ठाउँमा हेलिकप्टर जान सकेको छैन ।