वासिङटन । सेना र हतियारमा विश्वव्यापी खर्च यतिबेला नयाँ स्तरमा पुगेको छ । विशेषगरी रुस–युक्रेन युद्ध चलिरहेका बेला हतियार र सेनाबलको महत्व सबैले आभास गरेको पाइएको छ । यसमा पनि युरोपेली क्षेत्रमा हतियार र सेनामा लगानी झन झन ठूलो रुपमा बढ्दै जाने प्रक्षेपण गरिएको छ ।
कोभिड महामारीका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको भएपनि विश्वले आफ्नो सैन्य खर्च घटाएको छैन उल्टै अघिल्लो वर्षको तुलनामा हतियार र सेना खर्च वृद्धि भएको सीप्रीको नयाँ रिपोर्टमा उल्लेख छ ।
सीप्रीका वरिष्ठ खोजकर्ता डिएगो लोपेस भन्छन्, “२०२१ मा मात्र सेनामा लगानी सातौँ वर्ष लगातार बढेको छ जसमा सैन्य खर्च २।१ ट्रिलियन डलर पुगेको छ । यो इतिहासकै उच्च तथ्यांक हो । ”
यसमा रुसले २।९ प्रतिशतले आफ्नो सैन्य खर्च बढाउँदै ६५।९ अर्ब डलर पुर्याएको छ । विगत तीन वर्षदेखि रुसले सेनामा लगानी केबल बढाइरहेको मात्र पाइन्छ । यसले कूल घरेलु उत्पादनको ४।१ प्रतिशत सेनामा खर्च गरेको छ । यो भनेको विश्वव्यापी औसतलाई हेरेर एकदम धेरै हो । यसले रुसलाई विश्वकै पाचौँ सबैभन्दा धेरै सैन्य खर्च गर्ने मुलुक बनाइदिएको छ ।
तेल र ग्यासबाट प्राप्त ठूलो आम्दानीले नै रुसलाई यो स्तरको सैन्य खर्च धान्न मद्दत गरेको बताइएको छ ।
हाल युक्रेनमा हमला गरिररहेको रुसले विशेषगरी २०२१ को अन्त्यतिर सेना सम्बन्धी खर्च तिव्र रुपमा बढाएको थियो । युद्ध चलिरहँदा आगामी दिनहरुमा रुसले आफ्नो खर्च कत्तिको कम गर्नेछ भन्ने अनुमान लगाउन कठिन छ । पश्चिमले यसमाथि जारी गरेको विभिन्न प्रतिबन्धले आम्दानीमा उल्लेखनीय प्रभाव पार्ने आशा गरिएको छ । तर अर्कोतर्फ २०१४ मा रुसले क्रिमिया कब्जा गर्दाको समयमा पनि पश्चिमले यस्तै विभिन्न प्रतिबन्ध लगाएको थियो । यसले इन्धनको मूल्य घटाएको थियो तर अझैपनि ती प्रतिबन्धहरु वास्तवमै कत्तिको प्रभावकारी साबित भए भन्ने बताउन कठिन छ ।
यता क्रिमिया कब्जा भएदेखि युक्रेनले पनि आफ्नो सैन्य खर्च ७२ प्रतिशतले बढाउँदै आएको थियो । २०२१ मा मात्र यसले आफ्नो सेनामा लगानी ८ प्रतिशतले बढाउँदै ५।९ अर्ब डलर पुर्याएको थियो । यो भनेको युक्रेनको कूल घरेलु उत्पादनको ३।२ प्रतिशत हो ।
यता रुससँगको तनावले युरोप लगायत सबै नेटोका सदस्य राष्ट्रहरुले सेनामा धेरै भन्दा धेरै लगानी गर्न तम्सिरहेको रिपोर्टमा देखिएको छ ।
अन्य सबै देशलाई पछि पार्दै सेनामा ८०१ अर्ब डलर लगानी गरेको अमेरिकाले २०२१ मा चाहिँ यो विश्वव्यापी ट्रेन्डको विपरित आफ्नो सैन्य लगानी १।४ प्रतिशतले घटाएको छ । यसको सट्टा अमेरिकाले अनुसन्धान र प्राविधिक विकासमा बढी केन्द्रित रहेर खर्च गरिरहेको छ ।
विश्वमै दोस्रो ठूलो सैन्य बजेट भएको चीनले पनि यसपटक ४।७ प्रतिशतले सैन्य लगानी बढाएर २९३ अर्ब डलर पुर्याएको छ । विगत २७ वर्षदेखि चीनले हरेक साल सैन्य खर्च वृद्धि मात्र गरिरहेको छ ।
जापान र अष्ट्रेलियाले पनि सेनामा लगानी बढाइरहेका छन् ।
अमेरिका र चीनपछिको सबैभन्दा ठूलो सैन्य लगानीकर्ता भारतले २०२१ मा आफ्नो सैन्य खर्च बढाएर ७६।६ अर्ब डलर पुर्याएको छ ।
यसपटक साउदी अरबलाई पछि पार्दै बेलायत चौथो स्थानमा आएको छ । तीन प्रतिशतले सैन्य लगानी बढाउँदै बेलायतले ६८।४ अर्ब डलर बनाएको छ ।
अर्कोतर्फ साउदीले चाहिँ १७ प्रतिशतले सैन्य खर्च घटाउँदै ५५।६ अर्ब डलरमा झारेको छ ।