चार दशक अघि नै जुम्लामा फुटबल मोह, तर कमजोर नतिजा

काठमाडौं – कुनै जिल्लामा फुटबलको नेतृत्व एक दशकसम्म एकै व्यक्तिले गर्दा विकासको अपेक्षा पक्कै गरिन्छ । यतिका अवधिसम्म सामान्य रुपमा खेलाडी उत्पादन र खेल मैदानको परिकल्पना गर्नु जायज हो । तर,एन्फाको मान्यता पाएको दश वर्ष पुग्दासमेत जुम्ला फुटबलमा हालसम्म न त कुनै खेल मैदान निर्माण भएको छ,न त कुनै खेलाडी उत्पादनका लागि पहल ।

जुम्ला फुटबल संघका अध्यक्ष भरतबहादुर बुढथापा दश वर्षको कार्यकालमा निकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलिसकेका छन् । तर,उक्त अनुभव जुम्ला फुटबलको विकासमा लागि उपयोग भएन । बुढथापा जुम्ला फुटबलको लागि सरकारी तहबाट सहयोग नभएको बताउँछन् । स्थानीय तह र जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्न नसक्दा फुटबलको विकासका लागि धेरै सोच्न नसकेको उनको भनाइ छ ।

बुढथापालाई नै एन्फाले जिल्लाको फुटबल विकासका लागि भनेर पठाएको छ । फुटबलको विकासका लागि सरकारी र गैरसरकारी सरसहयोग जुटाउन नसक्नु अध्यक्ष बुढथापाको कमजोरी हो ।​ यद्यपी पछिल्लो एक–दुई वर्षमा जुम्लामा जिल्ला लिग सञ्चालनले केही विकासको अपेक्षा गरिएको छ । जिल्ला लिग जितेको लेकाली युवा क्लबले नेपालगन्जमा सम्पन्न एन्फा प्रेसिडेन्ट कप खेल्यो । उक्त लिगमा टिमलाई खेलाडी संकलनका लागि हार गुहार नै गर्नु पर्यो । जिल्लामा भएका सबै खेलाडी तयार पारेर टिम बनाउँदा पनि लेकाली युवा क्लबले प्रेसिडेन्ट कपमा जितविहीन भएर बाहिरिनु पर्यो ।

यसरी कमजोर अवस्थामा गुज्रिरहेको जुम्लाको फुटबलका लागि न त कुनै सरकारी निकायबाट पहल हुन सकेको छ,न त एन्फा जुम्लाको नेतृत्व नै लागि परेको छ । उसो त जुम्लाको कुनै पनि खेलाडी राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको छैनन् भन्ने होइन । युद्ध शाही र कलम भक्रीले राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका छन् । भक्रीले बाँसबारीबाट ‘बी’ डिभिजन लिगमा सात खेल र बौद्धबाट दुई राष्ट्रिय स्तरका खेल खेलेका छन् । उनी एन्फा जुम्लाको स्थापना हुनु पूर्व नै राष्ट्रिय स्तरमा पुगे । अर्का खेलाडी शाही जुम्लामा एन्फा स्थापना हुनुपूर्व त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्न सुरु गरेका थिए ।

२०३७ सालदेखि नै फुटबलको मोह

जुम्लामा चार दशकअघि २०३७ सालमा नै फुटबलको मोह सुरु भएको थियो । फुटबलका लागि भनेर लेकाली युवा क्लब दर्ता भयो,जुन फुटबलका लागि नै दर्ता भएको मध्यपश्चिमाञ्चलको पहिलो क्लब हो । यो क्लबको अस्तित्व अझै पनि छ । यसले नै गत वर्ष नेपालगञ्जमा भएको एन्फा प्रेसिडेन्ट लिग खेल्यो ।

२०३७ सालमा जुम्लामा लेकाली युवा क्लब सुरेशजङ शाहले सुरु गरेका थिए । उनले सुरु गरेको क्लब अहिले राष्ट्रिय लिग खेल्ने हैसियतमा पुगेको छ । – ratopati.com