जुम्ला – तिला गाउँपालिकामा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ।
तिला गाउँपालिका ३ सार्कीवाडास्थित मानसिं सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, छोरा र भान्जीको मृत्यु भएको हो।
सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तुलसा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
आगलागीको खबर पाएसँगै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थल पुगेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मानसिं, श्रीमती फागुनी सार्की र बहिनी रुन्चकली सार्की समेत बेहोस भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको छ।
मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ। जिल्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।