कर्णालीमा ६६ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप


कर्णाली – कर्णाली प्रदेशमा ६६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कुल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाएको जानकारी दिए। साथै एक लाख ४० हजार १८८ जनाले थप मात्रा समेत लगाएको उनले जानकारी दिए।

उनले मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। उनले कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएको बताए।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए।