काठमाडौं – गत चैत २ गते नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा स्वास्थ्यसचिव उपस्थित भएनन् ।
दुवै सचिवसँगै मन्त्रालयका महत्वपूर्ण महाशाखा प्रमुखहरू समेत कार्यक्रममा उपस्थित नहुनुलाई सहभागीलगायत सरोकारवालाले चासोका साथ हेरे ।
त्यसअघि गत फागुन १५ गते स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा स्वास्थ्यसचिव डा. रोशन पोखरेल उपस्थित भएनन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानी खापुङ, मुख्यसचिव शंकरदास बैरागी, स्वास्थ्य मन्त्रालयकै प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारीहरूको सबै उपस्थित रहेको कार्यक्रममा डा. पोखरेल उपस्थित नहुनुलाई पनि अर्थपूर्ण ढंगले हेरियो ।
मञ्चमा कार्यक्रम सञ्चालन गरिरहेकी मन्त्रालयकी कर्मचारी यशोधा अर्यालले स्वास्थ्य सचिव डा। पोखरेलको स्वास्थ्यमा समस्या भएर कार्यक्रममा अनुपस्थित भएको जानकारी गराएर सरोकारवालाहरूको जिज्ञासा समाधान गर्न खोजिन् ।
तर, पछिल्लो समय सचिव पोख्रेल स्वास्थ्यका कुनै पनि कार्यक्रममा उपस्थित हुन छोडेका छन् । कुनै कार्यक्रममा आफूलाई उचित स्थान नदिइएको त कुनै कार्यक्रममा आफ्नो उपस्थिति आवश्यक नभएको भन्दै उनले भेटघाट तथा कार्यक्रमलाई ‘इग्नोर’ गर्दै आएको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।
पछिल्लो समय हुने अधिकांश कार्यक्रममा जनसंख्या सचिवको रुपमा नियुक्त भएकी सचिव देवकुमारी गुरागाईं नै उपस्थित हुने गरेको देखिन्छ । दुईजना सचिव रहँदा आपसमा मनमुटाव उत्पन्न हुनु र त्यसको प्रत्यक्ष असर मन्त्रालयका कामकाजसम्मै पर्नु स्वास्थ्य मन्त्रालयका लागि नौलो विषिय होइन । चाहे त्यो पूर्वसचिवहरू डा. पुष्पा चौधरीको राजीनामा स्वीकृत नहुँदाको प्रसंग होस् या केदारबहादुर अधिकारीलाई कार्यकालको ५१ दिनमा नै मन्त्रालयबाट फिर्ता पठाइएको घटना ।