भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन


काठमाडौं – आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । सरकारले हिजोबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको थियो । आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अन्तिम दिन हो ।

सरकारले दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गरेको हो ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

यस वर्ष २७ लाख बालबालिकालाई भिटामिन ‘ए’, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाइने मन्त्रालयले जनाएको छ ।