काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति आफ्नै मैदान एन्फील्डमा भएको खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई ४–० ले हराएको हो ।
लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गर्दा सादियो माने र लुइस डियाजले एक एक गोल थपे ।
खेलको पाँचौं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । ६८ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता ३–० को दिलाए । त्यसपछि ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए ।
जितसँगै लिभरपुलले ३२ खेलबाट ७६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा म्यानचेस्टर सिटीलाई उछिनेको छ । एक खेल कम खेलेको सिटीको ७४ अंक छ । सिटीले आज बुधबार राति ब्राइटनसँग खेल्नेछ । यस्तै बुधबार राति नै हुने अन्य खेलहरुमा चेल्सी र आर्सनल, एभर्टन र लेष्टर सिटी तथा न्युकासल युनाइटेड र क्रिष्टल प्यालेस भिड्नेछन् ।