सुर्खेत – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले पार्टीका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई नियमित कामकाजमा फर्कन निर्देशन दिएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई अबको तीनदिन भित्रै राजीनामा फिर्ता लिई पार्टीको काममा फर्कन निर्देशन दिएको हो ।
विष्टले गत फागुन २७ गते प्रदेशसभा सदस्य, प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए । पूर्व मन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता नरेश भण्डारीले भने,‘ उहाँले (विष्ट)दलमा दिएको राजीनामा अबको तीन दिनभित्र फिर्ता लिन निर्देशन गरिएको छ । साथै उहाँलाई पत्रसमेत लेखिसकिएको छ ।’
यस्तै संसदीय दलले प्रदेशसभालाई प्रभावकारी बनाउनका लागि दलले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरेको छ । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीमा जनलहर सिर्जना गर्न र पहिलो शक्तिको रुपमा स्थापित गर्नका लागि प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खट्न निर्देशन दिएको छ ।