निर्वाचनमा जुट्यो नेकपा एस, शक्ति परीक्षण गर्न अनुगमन टोली

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो।

बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्नको लागि ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकपछि उनले भने, ‘७ वटै प्रदेशमा केन्द्रीय कार्यालयको तर्फबाट अनुगमन गर्ने टोली पठाउँछौँ। उहाँहरूले सबैको गाउँ, नगर, वडा, उपमहानगरको रिपोर्ट लिएर संगठनको अवस्था कस्तो छरु हाम्रो उद्देश्य पूरा गर्न के गर्नुपर्छरु कामलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?’

अनुगमनको लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई खटाएको उनले बताए।

केन्द्रीय नेताहरुको अनुगमनले प्रदेशका इन्चार्ज र अध्यक्षलाई थप बल पुग्ने उनको भनाइ छ। उनले चुनाव प्रचार र संगठन निर्माण सदस्यता एकसाथ अगाडि बढाएको समेत बताए।

महानगर र उपमहानगरको उम्मेदवार छान्न केन्द्र र अन्य उम्मेदवार छान्न प्रदेशले ध्यान दिनेसमेत बताए। प्रारम्भिक उम्मेदवारको नाम सूची तयारी भइरहेको समेत बताए। उनले आगामी निर्वाचनमा तालमेलको लागि हात खुला गरेको समेत बताए।