सामुदायिक क्याम्पसहरुमा प्राविधिक शिक्षा तर्फ प्रदेश ५ को जोड

बुटवल – प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसहरुमा प्राविधिक धारका कार्यक्रम संचालनमा जोड दिइरहेको बताएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र प्रदेश भित्रै उच्च शिक्षा प्राप्तगर्ने अवसर दिनका लागि यस्तो प्रयास गरेको बताउनु भयो ।

शिक्षापत्रकार समुहको प्रदेश ५ समन्वय समितिले सोमबार आयोजना गरेको प्रदेश ५ मा सामुदायिक क्याम्पसको अवस्था, प्रदेश सरकारको भूमिका बिषयक भर्चुअल सम्बादमा बोल्दै मन्त्री बरालले कुनै पनि सामुदायिक क्याम्पसले इन्जिनियरिङ र विज्ञान संकायको कार्यक्रम संचालनगर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने बताए।

गतबर्ष स्नातकोत्तरतहको विज्ञान संकायको कार्यक्रम संचालनगर्ने प्रयास गरेपनि त्रिभुवन विश्वविद्यालयले स्वीकृती नदिंदा उक्त कार्यक्रम संचालन गर्न नसकिएको उनकाे भनाई छ। नेपालगञ्जको महेन्द्र बहुमुखीक्याम्पसमाएमएस्सी कक्षा चलाउनका लागि प्रदेश सरकारले आर्थिक व्यवस्थापन गर्न खोज्दा पनि नसकिएको भन्दै उनले यो बर्ष पनि प्राविधिक बिषयतर्फ कार्यक्रम संचालन गर्न जोड दिइने बताए ।

सामुदायिक क्याम्पसहरुका समस्या प्रदेश विश्वविद्यालय संचालनमा आएपछि केही रुपमा सम्बोधन हुने मन्त्री बरालले बताए । प्रदेश विश्वविद्यालय सम्बन्धि बिधेयक संसदमा पुगिसकेको जानकारी गराउँदै उनले उक्त कानूनमा विश्वविद्यालयको व्यवस्था समेत रहेको बताए ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालयको रुपमा रुपान्तरित हुन प्रक्रिया शुरु गरिसकेको र त्यसका लागि प्रदेश सरकारले आर्थिक र कानूनी रुपमा सहयोग गर्ने मन्त्री बरालले जानकारी दिए।

कोभिड १९ को संक्रमणको प्रभाव सामुदायिक क्याम्पसहरुमा समेत परेको उल्लेख गर्दै मन्त्री बरालले कोभिडको प्रभावलाई मध्यनजर गर्दै तत्कालका लागि संचालन खर्च दिने गरी मन्त्रालयले कार्यक्रमको प्रस्ताव अगाडी बढाएको बताए ।

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रिय अध्यक्ष गोपाल पाण्डेले समस्याहरुका बीच सामुदायिक क्याम्पसहरु संचालन भइरहेको बताए । उनले स्थानीय तह र संघीय सरकार बाट वेवास्ताहुंदा सामुदायिक क्याम्पसको समस्या समाधान हुन नसकेको बताए । सामुदायिक क्याम्पसहरुको सम्बोधनका लागि छुट्टै पब्लिक विश्वविद्यालय स्थापना गर्न सकिने अध्यक्ष पाण्डेको भनाई छ ।

प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडी बढाएको अवस्थामा त्यसमा सामुदायिक क्याम्पसलाई समेट्नुपर्ने उनकाे भनाई थियो ।
नेपाल पब्लिक क्याम्पस संघ प्रदेश ५ का संयोजक मित्रलाल न्यौपानेले सामुदायिक क्याम्पसहरुमा ३७ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको र ४० प्रतिशत नतिजा दिन सकेको बताए । उाले प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसको भौतिक सुधारका लागि केही सहयोग गरेकोमा धन्यवाद दिदै संचालन खर्चमा पनि सहयोग गर्न जरुरी भएको बताए। सरकारले पनि सहयोग नगर्ने र व्यवसायिक पनि हुन नपाउने कारण सामुदायिक क्याम्पसहरु अगाडी आउन नसकेको उनकाे भनाई थियो ।
प्रदेश ५ मा एक सय भन्दा बढि सामदायिक क्याम्पसहरु संचालनमा छन् ।