हिंसापीडित महिलाका संघर्ष

फाइल फोटो

सुर्खेत – वीरेन्द्रनगर–१२ कि ४० वर्षीय देविकुुमारी चपाईं झन्डै एक दशकदेखि न्यायका लागि लडिरहेकी छन् । उनी घरेलु हिंसाबाट पीडित हुन् । यो समाचार साझा बिसौनी दैनिकमा रजनी योगीले लेखेकि छन् ।

विवाह गरेदेखि नै दैनिकजसो देविकुुमारीले श्रीमान्को हिंसा खेप्नुपर्‍यो । ‘श्रीमान्ले लगातार ६ वर्षसम्म ममाथि शारीरिक र मानसिक यातना दिइरहे,’ उनले भनिन्, ‘त्यसबाट छुटकारा पाउन कानुनी लडाइँको बाटो रोजे, न्याय भने अझै पाइएको छैन ।’

देविकुुमारी उच्च शिक्षा लिएकी शिक्षित महिला हुन् । उनले स्नातक पास गरेकी छन् । श्रीमान्ले अवहेलना गर्न थालेपछि पढाइलाई पुनः निरन्तरता दिइन् । बिहेपछि केही वर्ष उनको पढाइ रोकिएको थियो ।

‘श्रीमान्ले सास्ती दिन थालेपछि आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘दुखजिलो गरेर भएपनि पढँे ।’ अहिले उनी एउटा प्राइभेट अफिसमा काम गर्छिन् । त्यसैबाट कमाएको पैसाले जसोतसो गुजरा चलाइरहेकी छन् ।

पहिला सामान्य घर व्यवहारमा मात्र सीमित देविकुुमारी पीडा सहन नसक्ने अवस्था भएपछि अन्यायविरुद्ध लड्ने आँट गरेको बताउँछिन् । मदिराले हरेक दिन मातेर आउने श्रीमान्ले छोरी जन्मिएपछि थप पीडा दिन थाले । वर्षौंसम्म उनले यस्तै व्यवहार सहेर बसिन् ।

श्रीमान्ले जायजेथा नै बेचेर मदिरामा खर्च गर्न थालेपछि देविकुमारीलाई घर धान्नै मुस्किल हुँदै गयो । अनेक अभाव र दैनिकजसो श्रीमान्को कुटपिट खेप्दै आएकी उनले पटक–पटक आत्महत्याको प्रयास पनि गरिन् । गाउँलेले उनलाई ढाडस दिए, बारम्बार मृत्युको मुखबाट बचाए ।

अत्याचारले हद नाघेपछि देविकुमारीले छिमेकी र आफन्तको सल्लाहमा श्रीमान्विरुद्ध घरेलुु हिंसाको मुुद्दा दर्ता गरिन् । त्यसपछि उनलाई थप समस्या आइलाग्यो, बस्ने बाँस गुुम्यो । श्रीमान् बेपत्ता भइदिए । श्रीमान्लाई खोजी गरी पाउँ भन्दै उनले प्रहरीमा उजुुरी पनि दिइन् ।

तर, अहिलेसम्म श्रीमान्को अत्तोपत्तो छैन । देविकुमारीकी छोरी १४ वर्षकी भइन्, नौ कक्षामा पढ्छिन् । छोरीको शिक्षा र लालनपालनमा समस्या भएपछि एउटा संस्थाको सहारामा काठमाडौंमा राखिएको उनले बताइन् । श्रीमान्सँगै हुँदा हिंसापीडित देविकुमारीलाई श्रीमान् नहुँदा झनै कष्ट भोग्नुपर्‍यो । ‘मेरो सास रहुुञ्जेलसम्म खोजी गरिदिन आग्रह गरेकी छु, ममाथि उसले गरेको अन्यायको सजाय दिलाएरै छोड्छुु,’ उनी भन्छिन् ।

सिम्ता गाउँपालिकाकी लक्ष्मी शाहीलाई परिवारले घर निकाला गरे । उनी अहिले वीरेन्द्रनगर–११ मा भाडाको कोठामा बस्छिन् । १६ वर्षदेखि श्रीमान्को यातना खेपिरहेकी लक्ष्मीका श्रीमान्ले दोस्रो बिहे गरेपछि उनी थप पीडित बनेकी हुन् । छोराछोरी अलपत्र पर्ने डरले उनले पीडा खेपेर भएपनि केही वर्ष घरमै बसिन् । उनलाई श्रीमान्ले मात्र नभइ घरका अरु सदस्यले पनि शारीरिक र मानसिक यातना दिन्थे ।

घर निकाला भएपछि २०७५ सालमा उनले प्रहरीमा घरेलुु हिंसा र घर निकालासम्बन्धी मुुद्दा दर्ता गरिन् । उनी भन्छिन्, ‘त्यसपछि झन् ज्यान मार्ने धम्की आउन थाल्यो ।’ यसबीचमा उनलाई ज्याला मजदुुरी गरेर छोराछोरी र आफ्नो गुजरा चलाइन् । ‘छोराछोरीको पढाइ छुट्यो,’ लक्ष्मीले भनिन्, ‘बालबच्चालाई पढाउन सकिएन, ठूलो पछुुतो लाग्छ ।’ उनले न सम्पत्ति पाएकी छन् । न त श्रीमान्ले छोराछोरीको रेखदेख गर्छन् । बहुविवाह पीडित लक्ष्मी वर्षैंदेखि न्यायको आसमा भौतारिरहेकी छन् ।

देवि र लक्ष्मी प्रतिनिधिमूलक पात्र हुन् । उनीहरूजस्तै थुप्रै महिलाहरू हिंसाका अनेक रूपबाट प्रताडित छन् । अन्यायका विरुद्ध संघर्ष गरिरहेका उनीहरूले समयमै न्यायसमेत पाउने गरेका छैनन् । पछिल्ला वर्षहरूमा घरेलुु हिंसाका मुुद्दा धेरै आउने गरेको अधिवक्ता गिता कोइरालाले बताइन् ।

‘श्रीमान्बाट पीडित भएका महिलाहरू कानुनी सेवाका लागि आउने गर्नुभएको छ,’ उनले भनिन्, ‘त्यस्तो संख्या बर्सेनि बढ्दो क्रममा छ ।’ घरेलु हिंसा, बहुविवाह, बालविवाह तथा श्रम शोषणलगायतका समस्या लिएर आउनेहरूको संख्या अधिक रहेको अधिवक्ता कोइरालाले बताइन् । एकातिर समाज शिक्षित बन्दै गइरहेका बेला अर्कोतिर भने लैंगिक विभेदका घटना बढ्दो क्रममा देखिनु निकै चिन्ताको विषय भएको उनी बताउँछिन् ।

घरेलु हिंसामा बढोत्तरी

कर्णाली प्रदेशमा पछिल्लो साढे दुुई वर्षको तथ्याङ्क हेर्दा घरेलु हिंसाका घटना बढेको पाइएको छ । प्रदेश प्रहरी कार्यालय सुुर्खेतका अनुुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर ६ सय २७ घरेलुु हिंसाका मुद्दा दर्ता भएका थिए । उक्त वर्ष सबैभन्दा बढी सुुर्खेतमा तीन सय ५५ वटा घरेलुु हिंसाका घटना दर्ता भएका थिए ।

त्यस्तै, दैलेखमा ७९, जाजरकोट ५६, डोल्पामा ४२, जुुम्ला ३९, मुगुमा १७, सल्यानमा १५, रुकुुम–पश्चिममा १२, कालीकोट सात र हुम्लामा पाँच वटा घरेलुु हिंसासम्बन्धी उजुरी दर्ता भएका थिए । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर आठ सय ७५ वटा घरेलुु हिंसाका घटना दर्ता भए । उक्त आर्थिक वर्षमा पनि सबैभन्दा बढी घरेलु हिंसाका घटना सुुर्खेतमा दर्ता भएका थिए भने सबैभन्दा कम हुुम्लामा ।

सुुर्खेतमा पाँच सय ४६, दैलेखमा एक सय ३७, जाजरकोटमा ४९, रुकुुम–पश्चिममा ४०, कालीकोटमा ३२, सल्यानमा २४, मुगुमा २१, डोल्पामा १३ र जुुम्लामा सात वटा उजुरी परेका थिए । चालुु आर्थिक वर्षको यो अवधिमा प्रदेशभर चार सय ४६ वटा घरेलुु हिंसाका घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका झन्डै आठ महिनामा सुुर्खेतमा मात्रै दुुई सय ५५ घरेलु हिंसाका उजुरी परेका छन् । यस्तै, दैलेखमा ८९, सल्यानमा २१, जाजरकोट १९, रुकुुम–पश्चिम १५, कालीकोटमा १४, मुगुमा १२, हुम्लामा नौ, जुुम्ला आठ र डोल्पामा चार वटा घटना दर्ता भएका छन् ।

रोकिएन बालविवाह र बहुविवाह

कर्णाली प्रदेशमा बालविवाहको अवस्था अहिले पनि भयावह छ । झन्डै ५० प्रतिशतले अहिले पनि वालविाह गर्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले न्यूनीकरणका लागि निरन्तर प्रयास गरिरहेपनि बालविवाहको अवस्था सुधार आउन सकेको छैन ।

त्यस्तै, कर्णालीमा बहुविवाह पनि अधिक हुने गरेको छ । बहुविवाहबाट पनि महिलाहरू नै बढी पीडित छन् । प्रदेश प्रहरी कार्यलयका अनुुसार आर्थिक वर्ष २०७६र०७७ मा बहुविवाह सम्बन्धी ८० वटा उजुरी परेका थिए । उक्त वर्ष सुुर्खेतमा २०, सल्यानमा १६, दैलेखमा १४, कालीकोटमा १०, रुकुुम–पश्चिममा सात, जाजरकोटमा र जुुम्लामा तीनरतीन तथा डोल्पामा एउटा उजुरी दर्ता भएका हुन् ।

गएको आर्थिक वर्ष २०७७/०७८ मा बुहविवाहका घटना बढेर ९६ पुगेका थिए । सो वर्ष सुुर्खेतमा २२, सल्यानमा २४, दैलेखमा १९, रुकुुम–पश्चिममा १०, जुम्लामा सात, कालीकोटमा ६, हुुम्लामा चार, जाजरकोटमा दुई र मुुगुुमा एउटा बहुविवाहका मुुद्दा दर्ता भएका थिए ।

चालुु आर्थिक वर्षमा सुुर्खेतमा मात्रै बहुविवाहका २२ वटा मुुद्दा दर्ता भइसकेका छन् । बालविवाह तथा बहुविवाहको तथ्याङ्क बढ्दोक्रममा देखिएको प्रहरीले जनाएको छ । यीमध्ये बहुसंख्यक घटनामा महिलाहरू नै पीडित बन्ने गरेका छन् ।