योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अङ्ग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ ।
यौगिक सूक्ष्म व्यायाममा नेत्रशक्ति बढाउने एक सूक्ष्म व्यायाम पनि पर्छ । सो व्यायाम आँखाको ज्योति बढाउनका लागि गरिन्छ । यो सूक्ष्म व्यायाम बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी छ । यो व्यायाम नेत्रशक्ति विकासक क्रियाअन्तर्गत पर्दछ ।
विधि : — दुवै आँखालाई पूरा खुम्च्याएर बन्द गर्ने र हल्कासँग खोल्ने क्रिया, छिटो-छिटो पाँच पटक गर्नुहोस् ।
— त्यसपछि टाउकोलाई स्थिर राखेर आँखाले सकेसम्म दायाँ र बायाँ पालैपालो हेर्नुहोस् ।
— यो अभ्यास तीन तीनचोटि गर्नुहोस् ।
— टाउकोलाईस्थिर राखेर आँखाले सकेसम्म तल र माथि पालैपालो हेर्नुहोस् ।
— यो अभ्यास पनि तीन तीनचोटि गर्नुहोस् ।
— टाउकोलाई स्थिर राखेर दुवै आँखालाई घडीको सुई घुम्ने दिशामा तीन पटक घुमाउनुहोस् ।
— अब त्यसको विपरीत दिशामा त्यसरी नै तीन पटक घुमाउनुहोस् ।
— दुवै हत्केलालाई रगडेर तातो बनाई आँखामा हल्का स्पर्श गर्नुहोस् ।
यसका फाइदा :- यसको नियमित अभ्यासले आँखाको ज्योति बढाउँछ तथा यसका मांसपेशी र स्नायुहरूलाई स्वस्थ बनाउँछ ।
सावधानी : आँखा पाकेको अवस्थामा नगर्नुहोस् । स्रोत – ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट