कर्णालीमा अबैध घरेलु मदिराले स्वास्थ्यमा बढ्दो असर

उत्पादन नियन्त्रणबाहिर, बिक्रि खुलेयाक

सुर्खेत – कर्णाली प्रदेशमा अबैध मदिरा उत्पादन नियन्त्रणबाहिर गएको छ । अबैध घरेलु मदिरा उत्पादन नियन्त्रणबाहिर हुदाँ प्रयोगकर्ताको स्वास्थ्यमा समेत गम्भिर असरपर्न थालेको छ ।

अन्तःशुल्क ऐन, २०५८ वा अन्तःशुल्क नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई कसैले पनि मदिराको उत्पादन, पैठारी, बिक्री वा सञ्चय गर्न नपाउने व्यवस्था छ ।

 

तर कर्णाली प्रदेशमा भने इजाजतविनै धमाधम अबैध मदिरा उत्पादन भइरहेको छ । तथ्यांक अनुसार कर्णालीका १० वटै जिल्लाका हरेक गाउँ टोलमा अबैध मदिरा उत्पादन भइरहेको हो ।
सँधै खाद्यन्नको हाहाकार भइरहने कर्णालीमा पछिल्लो समय खाद्यन्नबाट घरेलु मदिरा उत्पादन बढेको छ । प्रहरीले अबैध मदिरा उत्पादनमा रोक लगाउने प्रयास जारी राखेको छ । तर अबैध मदिरा उत्पादन भने नियन्त्रणबाहिर गएको छ ।

प्रहरीले अबैध मदिरा उत्पादनमा रोक लगाउने प्रयास जारी राखेपनि मदिराको पैठारी, बिक्री वा सञ्चय भने खुलेयाम नै हुने गरेको छ । कर्णालीका सानादेखि ठुला सहरबजार तथा हरेक गाउँ टोलमा अबैध मदिरा उत्पादन, पैठारी, बिक्री वा सञ्चय कार्य रोकिएको छैन ।

बढ्दो मदिरा प्रयोगकर्ता र खुलेयाम बेचबिखनले मानव स्वास्थ्यमा असर पर्नुका साथै विभिन्न हिंसात्मक घटना समेत बढेका छन् । भने बैधानिक प्रक्रियाबाट मदिरा उत्पादन नहुदाँ सरकारलाई समेत आन्तरिक राजस्व संकलनमा घाटा लागेको छ ।

स्थानीय बनाउँदै प्रहरी पोख्दै

अबैध घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले मदिरा बरामद गरी नष्ट गर्ने अभियान चलाएको छ । तर स्थानीयले भने लुकिछिपि बनाउन छाडेका छैनन् ।

घरेलु मदिरा थोरै लगानीमा धेरै फाइदाको व्यापार बन्न थालेपछि धेरैको रोजाइको व्यवसाय बनेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि ०७८ को पुसमसान्तसम्म कर्णालीमा एक लाख ४५ हजार तीन सय २१ लिटर अबैध मदिरा नष्ट गरिएको छ । १० वटै जिल्लामा स्थानीयले अबैध रुपमा उत्पादन गरेको यति ठुलो परिणामको मदिरा नष्ट गरिएको हो ।

यस्तै आर्थिक वर्ष २०७६÷०७७ देखि ०७८ को पुसमसान्तसम्म कर्णालीमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ९१ हजार ३० किलो लिटर बरामद गरी नष्ट गरिएको छ । भने दुई हजार ६ सय ९६ बोतल पक्कि प्याक मदिरा समेत प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

‘सूचना पाएसम्म प्रहरीले अबैध मदिरा बरामद गरी नष्ट गर्दै आएको छ’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रसिंह खड्काले भने, ‘सोही अवसरमा प्रहरीले अबैध मदिरा उत्पादन नगर्नसमेत निर्देशन दिदै आएको छ । तर छुकिछिपि उत्पादन तथा बिक्रि रोकिएको छैन । नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुन्छ ।’

सुर्खेतमा छ्याप्छ्याप्ती

पछिल्लो समय मदिरा प्रयोगकर्ता तथा होटल व्यवसायीहरुको मागका आधारमा सुर्खेतमा छ्याप्छ्याप्ती मदिरा उत्पादन भइरहेको पार्ईएको छ ।

कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेतमा अबैध मदिराको उत्पादन, पैठारी, बिक्री वा सञ्चय बढि देखिन्छ । प्रदेश राजधानीपछि सुर्खेतको वीरेन्द्रनगरमा जनघनत्व बढेसँगै मदिरा प्रयोगकर्ता पनि बढेपछि अबैध मदिरा कारोवार तिब्र देखिन्छ ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्मको मात्रै तथ्यांकलाई हेर्दा सुर्खेतमा मात्रै १४ हजार पाँच सय ९२ लिटर अबैध मदिरा नष्ट गरिएको छ । ६ महिनाभित्र १४ हजार पाँच सय ९२ लिटर मदिरा नष्ट गरिएपनि अबैध कारोवारको भने तथ्यांक छैन ।

यस्तै ६ महिनाभित्र तनि हजार ६ सय ५७ लिटर केजी मदिरा बनाउन तयार पारिएको अबैध कच्चा पदार्थ नष्ट गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय अनुसन्धान शाखाका असई झक्कुप्रसाद पौडेलले बताए ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुसमसान्तसम्म जाजरकोटमा चार हजार एक सय ५१ लिटर, रुकुमपश्चिममा एक सय लिटर, सल्यानमा ८०, हुम्लामा तीन सय ९२ र कालिकोटमा पाँच सय १२ लिटर अबैध मदिरा प्रहरीले नष्ट गरेको छ ।