सुर्खेत – राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका मन्त्रीहरुले शहिदपार्क सरसफाई गरेका छन् ।
वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकाया लगाएतका अन्य मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाई गरिएको छ ।
कर्णाली प्रदेश सरकारले सुर्खेत प्रशासनसँगको सहकार्यमा शनिबार बिहान शहिदपार्क परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबारदेखि तीन दिनसम्म दीपावलीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दीपावली गर्ने निर्णय गरेको छ । यस्तै, कर्णाली प्रदेशभरका नागरिकले पनि आ–आफ्नो घरमा तीन दिनसम्म दीपावली गर्न सरकारले आग्रह गरेको छ ।
भने प्रजातन्त्र दिवसकै अवसरमा प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरूमा राष्ट्रिय झण्डा फहराइएको छ ।