सुर्खेत – नेतृत्व परिवर्तन भएको तीन महिनापछि आइतबार कर्णाली सरकारले पूर्णता पाएको छ ।
लामो समयदेखि रित्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै आठ सदस्यीय कर्णाली मन्त्रीपरिषदले पूर्णता पाएको हो ।
नव नियुक्त पाँचै जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओबादी केन्दबाट दुई, नेपाली कांग्रेसबाट दुई र नेकपा एकिकृत समाजबादीबाट थप एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।
भने नेकपा एकीकृत समाजवादीबाट पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाही सहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।
लामो समयसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन । अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रिय शिर्ष नेताले विवाद समाधान गरेका हुन् ।